बामदेवलाई फेरि ‘बम्पर’, भैँसेपाटीमा खुसीयाली - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

बामदेवलाई फेरि ‘बम्पर’, भैँसेपाटीमा खुसीयाली



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले २२ जनवर्गीय संगठनको एकीकरण टुंग्याएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बिहीबार सचिवालय बैठकले २३ जनसंगठनमध्ये तत्कालीन एमाले पक्षलाई १६ र माओवादी पक्षलाई ६ जनसंगठनको नेतृत्व दिएर भागबन्डा टुंग्याएको हो । मधेसी संगठनको नेतृत्व भने टुंगो लाग्न बाँकी छ । एउटा पक्षले संयोजकको जिम्मा पाएको संगठनमा अर्को पक्षलाई सहसंयोजक दिइएको छ ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मदन–आश्रित स्मृति दिवसका अवसरमा शुक्रबार बिहान तत्कालीन एमाले कार्यालय बल्खुमा आयोजना हुने श्रद्धाञ्जली कार्यक्रममा सबै जनसंगठनको नेतृत्वको नामावली सार्वजनिक गरिने बताए ।

नेकपा स्थापना पनि शुक्रबार नै एक वर्ष पुग्दै छ । मदन–आश्रित स्मृति दिवसमा बल्खुमा आयोजित कार्यक्रमलाई अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने केन्द्रीय कार्यालयसचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमसहित केही केन्द्रीय सदस्यसमेत जनवर्गीय संगठनको संयोजक भएका छन् । गौतम किसान महासंघको संयोजक तोकिएका छन् । तत्कालीन एमालेमा पनि उनी किसान महासंघकै अध्यक्ष थिए ।

त्यस्तै, जनजाति महासंघको संयोजक तोकिएका सुरेश आलेमगर र सहसंयोजक शेरबहादुर तामाङ पार्टी केन्द्रीय सदस्य हुन् । प्रेस संगठन नेपालको संयोजक बनाइएका महेश्वर दाहाल पनि पार्टी केन्द्रीय सदस्य नै हुन् ।

जनसंगठनको नेतृत्वमा रहेका अन्य पार्टी केन्द्रीय सदस्यमा युवा संगठन संयोजक रामप्रसाद सापकोटा, भूमिहीन किसानका संयोजक रामप्रित पासवान, मजदुर संयोजक विनोद श्रेष्ठ छन् ।

त्यस्तै, महिला संयोजक अमृता थापामगर र सहसंयोजक सीता पौडेल, पेसागत महासंघ संयोजक विश्वनाथ प्याकुरेल, जनसांस्कृतिक महासंघ संयोजक खगेन्द्र राई, दलित संगठन संयोजक तिलक परियार पनि पार्टी केन्द्रीय सदस्य हुन् ।