वामदेव प्युठान पुग्दा बिजोग - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

वामदेव प्युठान पुग्दा बिजोग



प्युठान : कुनै समय वामदेव गौतम गृहजिल्ला प्युठान आउँदा बेग्लै चहलपहल बढ्थ्यो। गृहमन्त्री भएकै कारण उनको आगमनले उच्च महत्त्वको हुन्थ्यो। चुनाव हारजित जे हुँदा पनि उनी राजनीतिमा चर्चामा आइरहे। २०७० को संविधानसभा निर्वाचनमा गौतमले प्युठान र बर्दियाबाट चुनाव जिते। उनले बर्दिया छाडेर प्युठान रोजे। चुनावताका गौतमले जिल्लाबासीसँग भनेका थिए, ‘अब म मेरै जन्मभूमिमा आएँ। मेरो दाहासंस्कार यहींकै श्रीखण्डले गर्नू। अब अरू जिल्लाबाट चुनाव लड्ने छैन।’ जिल्लाबासी खुसी भए।

उनको जन्मघर प्युठान नगरपालिका–२ दाखाक्वाडी हो। गौतम झन्डै २० वर्षअघि बसाइँ सरेर बर्दिया गएका हुन्। अहिले परिवारसँगै उनी काठमाडौंमा बस्छन्। तर ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गौतमले प्युठानीमाझ गरेको बाचा बिर्सिए। उनी बर्दियाबाट उम्मेदवार बने। जिल्लाबासीले प्युठानबाटै चुनाव लड्न गरेको आग्रह बेवास्ता गरे। त्यसबेला उनको नाममात्र पार्टीले उम्मेदवारका लागि सिफारिस गरेको थियो।

चुनाव हारेपछि पार्टीको औपचारिक कार्यक्रममा पहिलोपटक यसै साता उनी प्युठान आए। नेकपा जिल्ला कमिटीका पदाधिकारी शपथ गराउन र प्रशिक्षण दिन गौतम गृहजिल्ला आएका हुन्।

बर्दियामा उनले सोचेजस्तो नतिजा आएन। उनी कांग्रेसका सञ्जय गौतमसँग सात सय ५१ मतान्तरले पराजित भए। कहिले प्युठान र कहिले बर्दिया गर्ने उनको शैलीलाई धेरैले मन पराएनन्। गौतमले जिल्लाबासीलाई गरेको धोका विपक्षीका लागि चुनावी नारा बन्यो।

अरू बेलाको भन्दा चुनाव हारेपछि गौतम प्युठान आउँदाको उत्साह कार्यकर्तामा देखिएन। गृहमन्त्री हुँदा उनले दिने अभिव्यक्ति निकै फूर्तिलो र हँसिलो देखिन्थ्यो। चुनावका बेला उनले गरेका धेरै बाचा अधुरै छन्। उनका ३४ बुँदे प्रतिबद्धता नारामै सीमित भए। उनले चुनाव जितेको एक वर्षभित्रै चाल्नेटार विमानस्थल उद्घाटन गर्ने आश्वासन गरेका थिए। तर, अहिलेसम्म त्यसको निर्माण सुरु भएको छैन। आर्थिक वर्ष ०७६÷७७ को बजेटमा स्वर्गद्वारी विमानस्थल सुरु गर्ने भनिएको छ। ६ वर्षपछि बजेटमा समावेश भएकाले विमानस्थल बन्नेमा जिल्लाबासी आशावादी देखिन्छन्।

जलाशययुक्त नौमुरे जलविद्युत् आयोजना, स्वर्गद्वारीमा केबुलकार निर्माण, स्वर्गद्वारीमै संस्कृति महाविद्यालय, आयुर्वेदसहितको मेडिकल कलेज, प्रत्येक वर्ष स्वर्गद्वारीमा अन्तर्राष्ट्रिय शास्त्रार्थ सम्मेलन र लुंग्रिमाडी सिँचाइ आयोजना कार्यान्वयन गर्ने उनका योजना अधुरै रहे।

बिजुबारमा आयोजित शपथ ग्रहण र कार्यकर्ता प्रशिक्षणमा गौतमले विकासको आश्वासन बाँडेनन्। ७१ वर्षीय गौतम कतिबेला बच्चा त कतिबेला पाका उमेरको व्यक्तिजस्तो गर्दथे। उनले कार्यकर्तासँग भने, ‘प्युठान भुलेको छैन, माया गरिरहेको छु।’ गौतम राष्ट्रिय राजनीतिमा पहुँच राख्ने नेताका रूपमा चिनिन्छन्। तर, उनले जिल्लाबासीको आशालाई निराशामा बदलदिए। त्यसैले यसपटकको प्युठान आगमन चमकदमक थिएन। उनी चुनाव हारेर पनि विभिन्न ढंगले राष्ट्रिय राजनीतिमा चर्चामा आइरहे। प्युठानबाट चुनाव लड्दा कार्यकर्ताले गौतमलाई भाबी प्रधानमन्त्री समेत भन्न भ्याए। गौतम आफैंले पनि प्रधानमन्त्री बन्नेको सूचीमा आफू पनि रहेको प्रतिक्रिया दिएका थिए।

एकलौटी नाम सिफारिस हुँदाहुँदै पनि गौतम प्युठानीलाई बेवास्ता गर्दै बर्दिया पुगे। तालमेलपछि राजमोकी दुर्गा पौडेलले चुनाव जितिन्। राष्ट्रिय राजनीतिमा कमजोर उपस्थिति भएकी पौडलको जितले जिल्लाको हित नगरेको नेकपाका कार्यकर्ता बताउँछन्। ‘वामदेव न आफू आए, न त राम्रो प्रतिनिधी छाने’, नेकपाका एक नेता भन्छन्, ‘त्यसैले विकासमा हामी धेरै वर्ष पछाडि प¥यौं।’ जन्मथलो भए पनि गौतमले यहाँको भूगोल राम्रोसँग बुझेका छैनन्। केन्द्रमै व्यस्त उनी जिल्लाको कुन गाउँमा के सम्भावना छ राम्रोसँग पहिचान गर्न पनि सक्दैनन्।

नेता धेरै, विकास थोरै

गौतमसहित जिल्लामा दर्जन बढी वामपन्थी नेताहरू राष्ट्रिय राजनीतिमा क्रियाशील छन्। मसालका महामन्त्री मोहनविक्रम सिंह, मोहन वैद्य किरण, नेकपाका लीलामणि पोखरेल, मणि थापा, सूर्य थापा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखेरल प्युठानमै हुर्किएका हुन्। तर, राजनीति खिचातानीमै व्यस्त उनीहरूले जिल्लाको विकासमा कहिल्यै प्रतिस्पर्धा गरेनन्। त्यसैले प्युठान छिमेकी जिल्लाको तुलनामा पछाडि छ। केशव रोकाले अन्नपूर्णपोस्टमा लेखेका छन्