पैसा धेरै भएका ठाउँमा बम हान्नेसँग वार्ता गरिन्न : प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पैसा धेरै भएका ठाउँमा बम हान्नेसँग वार्ता गरिन्न : प्रधानमन्त्री ओली



काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् ।

फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको वनस्थलीस्थित घरमा बम पड्काइएकोबारे प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न आएको टोलीसँग मंगलबार बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका हुन् ।

‘कतिपयले वार्ता गर्नुपर्‍यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने,आतंकित पार्ने ,पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्” प्रधानमन्त्री ओलीले भने, ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’

प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताएका छन् । कम्युनिष्टले त युवाहरुलाई कर्मठ र कर्मशील हुन सिकाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘कम्युनिष्टले त युवाहरुलाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनु पर्ने हो’, प्रधानमन्त्री ओलीले भने, ‘यहाँ त कम्युनिष्टको नाममा यूवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटप्रति दुःख व्यक्त गरेका छन् । यस घटनाको सरकारले छानबिन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरेका छन् ।