दाहालले वाम गठबन्धनमा रुचि देखाए द्वन्द्वकालको मुद्दामा माओवादी नेताहरू अन्तर्राष्ट्रिय अदालतमा तानिने भनेपछि ... - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

दाहालले वाम गठबन्धनमा रुचि देखाए द्वन्द्वकालको मुद्दामा माओवादी नेताहरू अन्तर्राष्ट्रिय अदालतमा तानिने भनेपछि …



काठमाडाै । काँग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ। एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई फकाउने रणनीति अख्तियार गरेको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

दाहाललाई काँग्रेसले आगामी पाँच वर्षका लागि प्रधानमन्त्री बन्न ‘अफर’ मात्रै गरेको छैन, द्वन्द्वकालको मुद्दा काँग्रेस-माओवादीले मात्रै टीआरसीमार्फत टुंगो लगाउन सक्नेसम्मको प्रस्ताव पठाएको छ। दाहालले वाम गठबन्धनमै रुचि देखाएमा टीआरसीको मुद्दामा माओवादी नेताहरू अन्तर्राष्ट्रिय अदालतमा तानिने घुमाउरो भाषामा काँग्रेस नेताहरूले प्रेसर दिएको स्रोतले बतायो।

दाहाल के गर्दा फकिन्छन्, त्यही अस्त्रको प्रयोग अहिले काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले गर्न खोजेको छ। ‘वाम एकता टुटाउन अनेक तिक्डम र प्रयास जारी नै छन्,’ माओवादी केन्द्रका नेता मणि थापाले भने, ‘तर जतिसुकै कोसिस गरे पनि त्यस्तो योजना सफल हुने देखिँदैन।’

एमाले-माओवादीबीच पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको, नेताहरूको पदीय व्यवस्थापनमा अझै ठोस प्रगति हुन नसकेको र नयाँ सरकार गठनका लागि अझै महिना दिन लाग्ने देखिएपछि लोकतान्त्रिक गठबन्धनले आफ्नो ‘मुभ’ बढाएको हो। एमाले-माओवादीमा देखिएको अलमलमा खेल्न सकिने विश्वासमा लोकतान्त्रिक गठबन्धन देखिन्छ।

सोमबार मात्रै पनि दाहालको ‘मुड’ बुझ्न र एमालेसँगको गठबन्धन टिकाउ नहुने सन्देश दिन राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो र काँग्रेस सांसद अमरेश सिंह दाहालनिवास खुमलटार पुगेका थिए। दिउँसो ३ बजे महतो र सिंहले दाहालसँग करिब ४५ मिनेट गोप्य वार्ता गर्दै संविधान संशोधन, गठबन्धनलगायत विषयमा धारणा बुझ्ने प्रयास गरेका थिए। काँग्रेस नेताहरूले दाहाललाई फकाउन प्रयास गरिरहेकै बेला सोमबार महतो र सिंह दाहालनिवास छिरेका हुन्।

लोकतान्त्रिक गठबन्धनले एमालेसँगको सहकार्य तोडेमा काँग्रेस, माओवादी, सङ्घीय समाजवादी र राजपा सम्मिलित गठबन्धन सरकारको प्रधानमन्त्री बन्न पाउने प्रस्ताव दाहालसामु यसअघि नै राखेको थियो। त्यस्तो प्रस्ताव दाहाललाई स्वयम् काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पुस १ गतेको भेटमै गरेका थिए। त्यसको खुलासा दाहालले पार्टी बैठकमा गरेका थिए।

काँग्रेस ६३, माओवादी ५३, सङ्घीय समाजवादी १७ र राजपा १६ गरी प्रतिनिधिसभामा कुल १४९ सिट पुग्ने र त्यस्तो सरकारको सम्भावना रहेको जिकिर गर्दै दाहाललाई काँग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको हो। संसद्मा बहुमत प्राप्त गर्न कुल १३८ सिट भए पुग्छ।