ओली–प्रचण्ड बालुवाटारमा: के हुँदैछ छलफल ? - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

ओली–प्रचण्ड बालुवाटारमा: के हुँदैछ छलफल ?



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्। 

२६ भदौमा बोलाइएको स्थायी कमिटी बैठकको अजेण्डाबारे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ११ः३० बजेदेखि दुई अध्यक्ष बीच छलफल भइरहेको छ। दाहालका प्रेस सल्लाहकार बिष्णु सापकोटाका अनुसार, स्थायी कमिटी बैठकमा पेश गरिन लागेको कार्यदलको प्रतिवेदनबारे छलफल भइरहेको छ। 

पार्टी विवाद समाधान गर्न सुझाव पेश गर्न गठित कार्यदलले गएको ६ भदौमा प्रतिवेदन बुझाएपछि नेकपाको स्थायी कमिटी बैठक बोलाइएको छ। नेकपाभित्र विवाद उत्कर्षमा पुगेपछि १३ साउनदेखि स्थायी कमिटी बैठक अनिश्चित बनेको थियो। तर, महासचिव बिष्णुप्रसाद पौडेल संयोजकत्वमा गठित कार्यदलले पार्टी विवाद समाधानका लागि सुझाव पेश गरेको छ। 

उक्त सुझावहरुमाथि स्थायी कमिटीमा छलफल गरी निर्णय लिने तयारी नेकपामा भइरहेको छ। कार्यदलले एकताको महाधिवेशनसम्म पार्टी अध्यक्ष र पाँच वर्षसम्म प्रधानमन्त्री ओली नै रहने, तर पार्टीको कार्यकारी अध्यक्ष दाहालमा हुनेगरी प्रतिवेदन बुझाएको छ।