देउवाले मध्यरातमा किन बोलाए नेताहरूलाई बालुवाटार ? - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

देउवाले मध्यरातमा किन बोलाए नेताहरूलाई बालुवाटार ?



काठमाडौँ- सत्ता गठबन्धनको बैठक सकेलगत्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवादका लागि बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा दुई चरणको छलफल सकेर बालुवाटार फर्केका छन् ।

बालकोटबाट फर्केलगत्तै प्रधानमन्त्री देउवाले आफू निकट केहि नेताहरूलाई सरकारी निवास बालुवाटारमा बोलेका छन् । बालकोटबाट फर्किने क्रममै बाटैबाट देउवाले केहि नेताहरूलाई छलफल गर्नुपर्ने भन्दै बालुवाटार बोलाएको कांग्रेसका एक नेताले बताए ।

गठबन्धनको बैठकमा नेताहरू आफ्नो अडानबाट तलमाथि नभएपछि लगत्तै बालकोट हानिएका देउवाले ओलीसँग करीब दुई घण्टा संवाद गरेका छन् । प्रधानमन्त्री देउवाको पछिल्लो सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएकै बेला उनले निकट नेताहरूलाई बालुवाटार बोलाएका हुन् । के बिषयमा छलफल गर्ने भन्ने नखुलाए पनि एमसीसी र सम्भावित गठबन्धन बन्नेबारे चर्चा भैरहेको छ ।

के भयो बालकोटमा ?

देउवा र एमाले अध्यक्ष ओलीबीचबीच भएको वार्ता र संवादलाई गोप्य राखिएको छ । दुवै नेताले यसबारे बोल्न चाहेका छैनन् ।

देउवा र एमाले अध्यक्ष ओलीबीच झण्डै दुई घण्टा लामो वार्ता भएको थियो । ओली निवास बालकोटमा राति ८ बजेर ५० मिनेटमा बालकोट पुगेका देउवा राति सवा १० बजे बालुवाटार फर्किएका हुन् ।

योबीचमा देउवा र ओलीबीच दुई चरणमा छलफल भयो । पहिलो चरणमा छलफल सकेर बालुवाटार फर्किन लागेका देउवाले फेरि ओलीले बोलाएका थिए । त्यसपछि देउवा र ओली अर्को चरणको वार्तामा बसेका थिए ।

एमसीसी अनुमोदनको विषयलाई लिएर सत्तागठबन्धन नै धरापमा परेपछि बिहीबार बेलुका देउवा र ओलीबीच ‌‌ओली निवासमा झन्डै दुई घण्टा छलफल भएको हो ।

छलफलमा के कुरा भयो भन्ने दुबै नेताहरुले बाहिर ल्याउन चाहेका छैनन् । ओलीको सचिवालयले उनीहरुबीचको संवादमा एमसीसी र राजनीतिक गतिविधिबारे कुराकानी भएको तर मिडियालाइ केही भन्ने कुरा नभएको बताएको छ ।