बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु



काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी छ । एमसीसी, नियमित प्रशासनिक कामकारबाही बारेमा पनि छलफल हुने कार्यसूची रहेको छ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन समयमै गर्न दबाब बढाएको छ । आयोगले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो । आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर जेठ ४ मा निर्वाचन गर्न परामर्श दिएका थिए । भेटमा उनले मन्त्रिपरिषद्को अबको बैठकबाट निर्वाचन मिति घोषणा गर्ने जानकारी दिएका थिए ।

प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)बारे साझा धारणा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार छलफल गरेका थिए ।

स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ पहिलो हप्ता सकिँदैछ । सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ । वैशाखमा निर्वाचनको मिति नतोकेर सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको एमालेको आरोप छ । प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने शीतल निवास पुगेको समयमा समयमै निर्वाचन गर्न सल्लाह दिएकी थिइन् । नेपाल बार एशोसिएशनले पनि नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुन समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गर्न सरकारसँग अपिल गरेको छ । बारले कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुन विपरीतमात्र नभइ लोकतन्त्र र विधिको शासनको समेत उपहास हुने बताएको थियो ।

ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ । तर संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन् । चर्को दबाबपछि सत्ता गठबन्धनको बैठकले जेठभित्रै चुनाव गर्न सहमति जनाएका थिए ।