बल्ल बुझे प्रधानमन्त्री ओलीले म्याद - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

बल्ल बुझे प्रधानमन्त्री ओलीले म्याद



काठमाडौं- अदालतको अवहेलना गरेको आरोप लागेका चार पूर्वन्यायाधीशहरु आफ्नो भनाइ लिखितरुपमा पेस गर्न सोमबार सर्वोच्च अदालत गएका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालतको अवहेलना गरेको आरोप लागेको विषयको प्रतिवाद गर्न सर्वोच्च अदालत गएका हुन् ।

यसअघि सर्वोच्चले ती चार पूर्वप्रधानन्यायाधीशलाई अदालतको अवहेलना गरेको आरोप लागेपछि त्यसको प्रतिवाद गर्न आदेश दिएको थियो । अदालतले त्यस्तो आदेश दिएको भए पनि प्रशासनले सम्बन्धित पूर्वन्यायाधीशलाई म्याद जारी गरेको थिएन ।

अदालतले म्याद जारी नगरेको भए पनि उनीहरु पत्रपत्रिकामा आएको समाचारलाई आधार बनाएर अदालत गएका ती पूर्वप्रधानन्यायाधीशहरुले बताएका छन् ।यसैगरी अदालतको अवहेलना गरेको आरोप लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले म्याद बल्ल बुझेका छन् । सर्वोच्च अदालतले आदेश लिखित जवाफ मागेको १८ दिनपछि मात्र प्रधानमन्त्री ओलीले म्याद बुझेको बताइएको छ ।
सर्वोच्च स्रोतका अनुसार आइतबार मात्र प्रधानमन्त्री ओलीले म्याद बुझेको बताइएको छ । म्याद बुझाउन १८ दिनपछि सर्वोच्चका कर्मचारी बालुवाटार पुगेका थिए ।

अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाई अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले प्रधानमन्त्री ओली तथा पूर्वप्रधानन्यायाधीशहरुलाई आफै लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सो आदेशको पालना गर्दै उनीहरू सर्वोच्च अदालतमा लिखित जवाफ लिई आफै पुगेका थिए ।

उनीहरूले प्रधानमन्त्रीले संविधानविपरीत कार्य गरेकाले त्यसलाई सुधार गर्न बोलेको उल्लेख गरेका छन् । ती चार पूर्वप्रधानन्यायाधीशमध्ये शर्माले छुट्टै लिखित जवाफ पेस गरेका थिए भने अन्य तीन जनाले संयुक्त लिखित जवाफ दिएका छन् । उनीहरूले बोलेको कुरालाई लिएर अदालतको अवहेलना भएको उल्लेख गर्दै अधिवक्ता धनजित बस्नेतले मुद्दा दायर गरेका थिए ।