बालकोट बैठकको निष्कर्ष: माधव अब चाहेर पनि एमालेमा फर्कन सक्दैनन् - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

बालकोट बैठकको निष्कर्ष: माधव अब चाहेर पनि एमालेमा फर्कन सक्दैनन्



काठमाडौं- नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका वरिष्ठ नेता माधव नेपाल चाहेर पनि एमालेमा फर्कन नसक्ने निष्कर्ष उनको साथ छाडेका नेताहरूले निकालेका छन् ।

सोमबार बिहान बालकोट स्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा माधव नेपाल अब चाहेर पनि फर्कन नसक्ने निष्कर्ष निकालिएको थियो । पार्टी विभाजन गर्दा साथ छाडेका नेताहरूले ओलीसंग गरेको निर्णायक छलफलमा पार्टी विभाजन गरेर गएका नेपाल अब कुनै पनि हालतमा आउन नसक्ने चर्चा चलेको थियो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने,‘बैठकमा सहभागी नेताहरूले माधव नेपालले अलग्गै बाटो हिँड्न संकल्पित गरेकाले अब उहाँ एमालेमा फर्कनुहुन्न भन्ने निष्कर्ष निकाल्नुभयो ।, अपिल गरे पनि वा अरू कुनै आधारबाट पनि माधव नेपाल फर्कने सम्भावना छैन भन्ने निष्कर्ष रह्यो।’

पार्टी विवाद समाधानका लागि अध्यक्ष ओलीसँग निर्णायक छलफल गर्ने भन्दै यस अघि माधव नेपाल पक्ष भनिएका एमाले स्थायी कमिटी सदस्यहरू ओली निवास बालकोट पुगेका थिए ।

पार्टीको विवाद समाधान र एकता बचाउन भन्दै मध्यमार्गी भनिएका नेताहरूले १० बुँदे कार्यन्वयन गर्न र कारबाही फिर्ता लिन भन्दै ओलीलाई अल्टिमेटम दिएका थिए ।