बालिका बलात्कार गर्नेलार्इ मृत्युदण्ड - Himal Post Himal Post
  • ५ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 18 2025
Logo

बालिका बलात्कार गर्नेलार्इ मृत्युदण्ड



नयाँ दिल्ली, भदाै ५ । भारतको मध्य प्रदेश राज्यको मन्दसौर जिल्लामा सात वर्षीय बालिकालाई सामुहिक बलात्कारको घटनामा दोषी पाइएका दुई जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।

त्यहाँको ‘फास्ट ट्रयाक’ अदालतले आज मंगलबार उक्त फैसला सुनाएको थियो। यस अघि उक्त अदालतले दुबैलाई दोषी ठहर गर्दै फैसला सुरक्षित राखेको थियो।

यसरी सजाय पाउनेमा २० वर्षीय इरफान र २४ वर्षीय आसिफ रहेका छन्।

खुलाइएन पीडितको पहिचान

गत जुन २८ मा स्कुलबाट घर फर्किदै गरेकी एउटी सात वर्षीय बालिकाको सामुहिक बलात्कारपछि हत्याको प्रयास भएको थियो।

बलात्कारीहरूले बालिकाको टाउको, अनुहार र घाँटीमा धारिलो हतियारले प्रहार गरेका थिए। उक्त बालिकाको उपचारमा संलग्न चिकित्सकहरू अनुसार उनको योनिमा समेत रड घुसारेर आन्द्रासम्म क्षतिग्रस्त पारेका थिए।

तिनलाई बचाउन डाक्टरहरूले तीन-तीन पटक सर्जरी गर्नु परेको थियो।

मिडियाले उक्त मामिलामा पीडितको नाम मात्र गोप्य राखिएकाे थिया । अस्पतालबाट बालिकाको तस्बिर भाइरल गर्ने नर्समाथि समेत कारवाही गरिएकाे थियो।

नराम्ररी घाइते भएकी भएपनि ती बालिका मृत्युलाई जित्न मात्र सफल भइनन् तिनले अपराधीको पहिचान समेत गरिन्। प्रहरीले घटनाको अनुसन्धानको क्रममा आरोपीहरू विरुद्ध ३७ जना साक्षी र एक सय ९७ दस्तावेज पेस गरेको थियो।

त्यसका साथै प्रहरीले घटनाको २० दिनभित्र तीन सय पृष्ठको आरोप पत्र तयार पारेको थियो।

कुनै चिहानमा पनि गाड्न नदिने चेतावनी

उक्त घटनाका दोषीहरूको धार्मिक आस्थालाई लिएर मध्यप्रदेशमा साम्प्रदायिक सद्भाव खल्बलिने आशंका गरिएको थियो। केही कट्टरपन्थी हिन्दूहरूले मुस्लिम धर्मवलम्बीहरू आरोपीहरूका पक्षधर रहेको आरोप लगाइरहेका बेला मुस्लिम संघ-संस्थाहरूले बलात्कारीहरूलाई फाँसी दिइनुपर्ने माग गर्दै प्रदर्शन गर्नुका साथै फाँसीपछि अपराधीहरूलाई कुनै पनि चिहानमा गाड्न नदिने चेतावनी दिएका थिए।

उक्त घटना घटे यता मध्य प्रदेशमा दिनहुँ जसो बलात्कारीहरूलाई मृत्युदण्डको माग गर्दै प्रदर्शन भैरहेका छन्। हालसम्म मध्यप्रदेशमा बालिका बलात्कार गर्ने १४ जनालाई फाँसीको सजाय सुनाइसकिएको छ।

एजेन्सीहरू