बलात्कारीलाई फाँसी देऊ। - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

बलात्कारीलाई फाँसी देऊ।



कर्ण अधिकारी।

देश कम्युनिष्टमयी भएको छ,प्रधानमन्त्री केपी शर्मा ओलीको कमाण्डमा दुई तिहाइको कम्युनिस्ट सरकारले पूर्व मेची देखि पश्चिम महाकाली सम्म लाल झन्डा गाड्दै देशकै बागडोर सम्हाली रहेको अवस्थामा नेपाली जनताले शान्तिको श्वास फेर्न पाउला भनेको त दिनहुँ जस्तो बलात्कार,अपहरण,हत्या हिंसा जस्ता कुराहरूले प्रश्य पाउनु दुर्भाग्य पूर्ण कुरा हो।देश सुशासन र समृद्धिको बाटोमा लम्किनु पर्ने अवस्थामा यस्ता दुखद घटनाहरू घट्नुले नेपाल सरकारलाई नै चुनौती थपिएको छ।

नेपाली समाजमा विगतमा मिडियाहरूको पहुँच नपुगेर होकी बलात्कारका घटनाहरू विरलै सुनिने गर्थे।मित्र राष्ट्र भारतमा चाहिँ विगत देखिनै यस्ता घटना सुन्दै आएको र बलात्कारीलाई मृत्युदण्ड दिइएको हामी पाउँदछौ।यस्ता जघन्य अपराध गर्ने अपराधीहरूलाई मृत्युदण्ड दिनु नै उचित हो तर हाम्रो देश नेपालमा वर्तमान अवस्थामा दुबो मौलाए झैँ मौलाएका बलात्कारीहरूलाई कानुनी कठघरामा उभ्याउने कडा नियम कानुन नबन्दा दिन दुई गुना रात चौगुनाको दरले वृद्धि भएको आभास भएको छ।नेपालका अधिकांश भूभागबाट दैनिक जसो बलात्कार भएको घटना सुन्दा र पढ्दा अब आफ्नै आमा,श्रीमती,छोरी चेलीहरू सुरक्षित छैनन् भन्ने कुराको आभास भएको छ।

केही दिन अघि कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पश्चात् हत्या गरिएकोमा आजको दिन सम्म पनि बलात्कारीलाई पत्ता लगाउन नसक्नु दुर्भाग्य पूर्ण कुरा हो भने त्यहाँको प्रशासनले घटनालाई नै ढाकछोप गर्दै नक्कली बलात्कारी खडा गरे पश्चात् आन्दोलित भएका जनताले तातो गोली खानु परेको छ।पीडितका परीवारलारलाई न्याय दिनु पर्नेमा उल्टै बलात्कारी बचाउन खोजे पछि जनता आन्दोलित हुनु स्वाभाविकै हो।

त्यसै गरी पोखरामा पनि केही दिन अघि १३ वर्षीय किशोरी पुष्पा केसी को पनि बलात्कार पश्चात् हत्या गरिएको आशङ्का गरिएको छ।त्यहाँको स्थानीयहरू पनि आन्दोलित भएका छन्।त्यसै गरी राजधानीकै नेपालटारमा पनि १४ वर्षीय किशोरी बलात्कार भएको घटना सुनिएको छ।आखिर यस्तो घटना घट्नुमा कसको कम्जोरी ? बिहान स्कुल पढ्न गएकी छोरी बेलुकी घर फर्किन्छ की फर्किँदैन भन्ने चिन्ता छ।घाँस,गोठालो गएकी आमा दिदी बहिनीहरू घर फर्किँदैन की भन्ने अवस्था छ।३ वर्षकी नानी देखि ८० वर्षकी हजुरआमा समेत बलात्कारमा परेको अवस्था छ।समाजमा आफ्नै आफन्तहरूबाट नै बलात्कार हुने कुरा तथ्याङ्कमा देखिएको छ।कोही कसैबाट सुरक्षित रहने अवस्था छैन।तसर्थ यस्ता घटनाहरूलाई न्युनिकरण गर्दै लैजाने हो भने नेपाल सरकारले यथाशीघ्र नेपालको प्रचलित कानुनमा रहेको बलात्कारीको सजायलाई पुनर्विचार गर्न जरुरी छ।छिमेकी मुलुक भारतमा र अन्य देशमा बलात्कारीलाई फाँसी दिन मिल्छ भने नेपालमा किन नमिल्ने ? तसर्थ नेपाल सरकारले यस विषयमा गम्भीरताका साथ सांसदहरूबाटै नीति परिवर्तन गरी यस्तो कानुन ल्याउन जरुरी छ।

यदि देशमा फाँसीको व्यवस्था भई हाल्यो भने निर्दोष र नक्कली बलात्कारीहरू चाहिँ नपरोस किनकि आज देशमा रहेका प्रशासनहरूले हाम्रालाई काखी च्याप्ने प्रवृत्ति भएका कारण निर्दोष मारिन्छ की भन्ने चिन्ता पनि त्यति कै छ।कञ्चनपुरमा पनि एउटा बहुलालाई नक्कली बलात्कारी खडा गरे।नेपालको प्रहरी प्रशासन देखि लिएर अन्य प्रशासनहरूमा सुधार हुनु जरुरी छ।देशमा यस्ता घटनाहरू सुनिन नपरोस्।आमा,श्रीमती,दिदी बहिनी छोरीहरूले सुरक्षित भएर बाच्न पाओस्।यस्ता घटना घट्नुमा नेपाल सरकारले पनि जिम्मेवार लिन जरुरी छ किनकि नेपाल सरकारले उचित कानुन र सुरक्षा दिन नसक्दा यस्ता घटना बढी घट्न गएको हो।