बलात्कारका घटना बारे यसो भन्छन पत्रकार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बलात्कारका घटना बारे यसो भन्छन पत्रकार



हिमाल पोष्टको प्रस्तुतिमा रहेको १० कलाकार १ प्रश्न धेरै कलाकार र पाठकहरूले निकै मन पराएको स्तम्भ हो यो स्तम्भमा हामीले १० जना कलाकारलाई एउटै प्रश्न र सोही प्रश्नको विचार लिँदै आइरहेका थियौ। तर बिचमा केही समय यो स्तम्भलाई निरन्तरता दिन सकेनौ त्यसमा हामी क्षमा प्रति छौ , अब भने यो स्तम्भले निरन्तरता पाउने भएकोले तपाईँलाई यो स्तम्भ कस्तो लाग्छ आगामी दिन कस्ता विषयहरू उठाउँदा प्रभावकारी होला जस्तो लाग्छ आफ्नो विचार  [email protected]  मेल पठाउन सक्नु हुने छ ।

आजको सोही स्तम्भ भने अलिकति फरक बनाएका छौ अघिल्ला भागहरूमा कलाकार लाई मात्र सोधिने प्रश्न आज केही पत्रकारलाई सोधिएको छ पहिल्लो समय देशमा दिन प्रति दिन बलात्कारका घटनाहरू घटी रहेका छन् सरकारबाट चित्त बुझ्दो न अनुसन्धान नै भएको छ न त कुनै कारबाही यही विषयमा हिमाल पोष्टका लागि समीर प्रकाश पाण्डेले तयार परेको पत्रकारहरूको विचार  जस्ताको त्यस्तै 

प्रश्न  : देशमा दिनानुदिन बलात्कारका घटना बढिरहेका छन् यस्ता घटना निराकरण गर्न देशमा कस्तो कानुनको आवश्यक छ ? तपाईँ आफ्नो तर्फबाट के पहल गर्नु हुन्छ ?

भोला अधिकारी (शुक्रवार साप्ताहिक)

बलात्कारको घटना हेरेर सजाय दिन सकिन्छ । जबर्जस्ती करणी गरेको रहेछ भने वा नाबालक माथि योैन कार्य गरेको रहेछ भने प्रहरीको संरक्षणमा विभिन्न बाटोघाटो , र बाझो रहेका खेतबारी , खेत खनाउने काम गर्नु पर्छ । जसले गर्दा अपराध गर्नेले सजाय पनि पाउँछ र देशले खाधान्य उत्पादन पनि बढाउँछ । बलात्कारीलाई फाँसीको सजाय दिनुहुँदैन भन्ने मेरो धारणा हो । विश्वमा फाँसी दिने मुलुक धेरै छन् तर यस्तो घटना रोकिएको छैन । त्यसैले कहिलेकाहीँ निर्दाेष मान्छे पनि फाँसीको भागीदार हुन सक्ने हुँदा जग्गा जमिन खेतजोत गराउने काममा लगाउनु पर्छ भन्ने मेरो धारणा हो ।बेरोजगार भएकै कारण अत्यधिक मात्रामा बलात्कारका घटना भएका हुन ।

कृष्ण आचार्य (नयाँ पत्रिका)

सर्वप्रथम त देशमा यसरी दिनानुदिन बलात्कारको घटना बृद्धि हुँदै जानुमा सरकार दोषी देखिन्छ । बलात्कारी पहिचान गर्ने, उनीहरुलाई कानुनी दायरामा ल्याउने बाटोमा सरकार र यसका सम्बन्धित निकाय लाचार देखिन्छन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको यतिमा समय बितिसक्दासमेत सरकारले बलात्कारी–हत्यारा पक्राउ गर्न सकेको छैन । यस्तो अवस्थामा बलात्कारीहरु थप उत्साहित भएका छन्, अपराधिक क्रियाकलापमा लागेका छन् । भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी ऐनमा बलात्कारसम्बन्धि प्रावधान अझै कमीकमजोरी छन् । त्यसलाई परिमार्जन गर्दै बलात्कारीलाई आजिवन काराबासको व्यवस्था गर्नुपर्छ । पीडक पक्षलाई उचित क्षतिपूर्ति र बलात्कृतले समाजमा सम्मानपूर्वक बाँच्न पाउने व्यवस्था हुन आवश्यक छ । अर्थात, राज्यले बलात्कारीलाई कुनै पवनि हालतमा उन्मुक्ति नदिने बाटोमा आफ्ना सम्यन्त्रहरुलाई परिचालन गर्नु आवश्यक छ । राजनीतिक दबाब, संरक्षण र निकटताका आधारमा बलात्कारीले उन्मुक्ति पाउने जुन परिपाटी छ त्यसको तत्काल अन्त्य हुनु पर्छ ।

त्यस्तै, मानिसको सोच, विचार र व्यवहारमा कसरी परिवर्तन ल्याउने, जनचेतना र सचेतनामुलक कार्यक्रमहरुमार्फत कसरी महिलालाई सूसुजित गर्ने, आत्मरक्षात्मक कसरी बनाउने भन्ने पक्षमा पनि सम्बनिधत निकायको ध्यान जानु आवश्यक छ । जय नारी अभियानमार्फत जसरी सावित्री सुवेदीले बलात्कारविरुद्ध अभियान चालेकी छन् त्यसलाई सबैको साथ र सहयोगसहित अझ बलियो बनाउन, यस्ता संस्था वा पक्ष एकजुट भएर आवाज उठाउँदै बलातकार न्यूनिकरण होयन कि यसको अन्त्य कसरी गर्ने भन्नेतर्फ सोच्नुपर्छ । यसो नहुँदासम्म जति नियम, कानुन परिमार्जन भएपनि बलात्कार अन्त्य हुँदैन ।

मेरो संस्था नयाँ पत्रिकाले यस सम्बन्धमा निरन्तर आवाज उठाइरहेको छ । पत्रकारलाई समाजको ऐनाको रुपमा हेरिने हुँदा मेरो व्यक्तिगत तर्फबाट पनि के, कसरी यस सम्बन्धमा पहल गर्न सकिन्छ त्यसमा म सधै सकारात्मक छु । प्रश्नका लागि यहाँलाई धन्यवाद ।

दुर्गा पंगेनी (केन्द्र विन्दु डट कम)

बलात्कार जघन्य अपराध मात्र होइन । सामाजिक मनोदशा नियाल्ने आँखीझ्याल पनि हो । समाज कता जाँदै छ र हामी सामाजिक भनिएका प्राणी हरूले आफू सरहका विपरीत लिङ्गी हरू प्रति कस्तो क्लेस पालिरहेछौँ भनेर प्रस्ट सँग देख्न सकिने छिद्र पनि हो । मैले सुरुवाती समय देखि नै भन्दै आइरहेको छु नेपालमा मृत्युदण्ड दिने कानुन बनाउन असम्भव जस्तै छ । त्यो अवस्थालाई चिरेर कसैगरी मृत्युदण्डको प्रावधान सहितको कानुन तर्जुमा भई हाल्यो भने पनि त्यो कानुन सही तरिकाले कार्यान्वयन हुनेमा प्रशस्त शङ्का गर्ने ठाउँ हरू देखिन्छन् । मृत्युदण्डको कानुनले आवाज हीन हरूलाई शूलीमा नचढाउला भन्न सकिन्न । त्यसको दुरुपयोग हुने सम्भावनालाई नकार्न पनि सकिन्न । प्रशासन समेत अपराधी उम्काउनकै लागि या अपराधीको प्रलोभन मा परेर सजायबाट उन्मुक्ति दिनकै लागि निर्दोष मान्छे समातेर दोषी करार गर्न लागि पर्ने देशमा मृत्युदण्डको कार्यन्वयन सही अपराधीलाई दिइनेछ भनेर पत्याउनु स्वरैकल्पना सिवाय केही हुन सक्दैन ।

आठ दस वर्षको जेल सजाय नभोग्नको लागि निर्दोष लाई बलि चढाउने समाजमा मृत्युदण्ड बाट बच्न शक्ति सम्पन्न हरूले कति जालझेल ? त्यही अवस्था लाई प्रयोग गरेर पैसा कमाउन उद्यत प्रहरी प्रशासन र मुद्दा पर्छ्यौट बाट अकुत सम्पत्ति आर्जन गर्न चाहने न्यायालयका कर्मचारी हरूले त्यो अपराधीलाई बचाउन कति सम्मको आर्थिक चलखेल गर्लान् ? राम राज्य हो भने बलात्कारीलाई मृत्युदण्ड जायज हो किनकि त्यहाँ न्याय बिक्दैन । त्यहाँ दूधको दूध र पानीको पानी हुन्छ दोषीलाई कारबाही हुन्छ तर नेपालमा त्यो सम्भव छैन । निर्दोष खोजेर शूली चढाउने र अपराधीलाई बचाएर पैसा कमाउने द्रब्य पिपासु हरूको हातमा प्रशासन र न्यायालय भएको हाम्रो देशमा पहिला व्यवस्था सुधार गरेर मात्र त्यस्तो कानुनको सही कार्यान्वयनको आहा गर्न सकिन्छ तसर्थ मृत्युदण्ड भन्दा पनि अधिकारकर्मी हरूले विद्यमान कानुन हरूको सही कार्यान्वयन को माग गर्नु जरुरी देख्दछु ।

कृष्ण बाबु पाण्डे (न्युज 24)

कानुन जस्तो सुकै होस केही फरक पर्दैन हाम्रो जस्तो यो मुलुकमा फाँसीको कानुन हुनु हुँदैन किनकि कैलालीको घटना हेर्नोस् जहाँ अर्को निर्दोषलाई प्रशासनले जबर्जस्ती दोषी देखाएर पत्रकार सम्मेलन गरो यदि फाँसीको सजाए हुने थियो भने त्यहाँ एक निर्दोष व्यक्तिले ज्यान गुमाउनु पर्ने थियो । आफू परिवर्तन हुनु आवश्यक छ र सबैले आफ्नो र अरूको एउटै देख्नु पर्‍यो बरु जन्म कैद होस मेरो चाहाना ।

सबिता पोख्रेल (म्युजिक खबर पाक्षिक)

कानुन भएर मात्र बलात्कारमा कमी हुने होइन । सचेत र सभ्य नागरिक बनाउनेमा राज्यस्तरबाटै पहल हुनुपर्छ । जसका लागि यौन शिक्षालाई खुलेर सिकाइनुपर्छ । यौन शिक्षाका विषयमा खुलेर बहस हुने हो भने यस्ता घटनामा कमी आउँछ । त्यसको लागि घरबाटै सुरु हुनुपर्छ । आमा बाबुले आफ्ना छोराछोरी दुवैलाई समानव्यवहारका साथै उनीहरू भित्र भएका यौन जिज्ञासालाई सहज रूपमा खेलेर जानकारी दिनुपर्छ । त्यस्तै विद्यालयमा यौन शिक्षाका बारेमा खुलेर सिकाई हुनु जरुरी । साथसाथै सेल्फ डिफेन्सका कुराहरू पनि सिकाइनुपर्छ । जसका कारण सजिलै कुनै पनि केटी मान्छे बलात्कृत हुन पाउँदिनन् । र बलात्कार भएपछिको केसमा भने बलात्कारीको लिङ्ग छेदन गरेर आजीवन जेल सजाय हुनुको साथै पीडित महिलालाई बलात्कारीको आधा अंशसमेत भराउने खालको कानुन बन्नु पर्छ । र बनिएको कानुन सबैमा लागू हुनुपर्छ ।

सुषमा देवकोटा (अनलाईन मझेरी)

हुनत बलत्कारीलाई फाँसीको सजायँको माग चारैतिरबाट भै रहेको छ । तर बलत्कार र फाँसी शब्द एकै प्रकारको पिडा होईन । बलत्कारको पिडा सहनु र फाँसीको पिडा सहनु फरक कुरा हो । मेरो बिचारमा बलत्कारीलाई फाँसी भन्दा पनि यस्तो सजायँको आवश्यकता छ जसले गर्दा उसले जीवनभर पश्चाताप गर्नु परोस् कि मैले त्यो समय बलत्कार नगरेको भए आज म समाज र आफ्नो निजी जीवनमा यति अपहेलित हुनु पर्ने थिएन । उ जिउँदो रहेर पश्चाताप गर्नु पर्छ मैले घोर अपराध गरें भनेर ।

आक्रोसलाई ब्यक्त गर्ने हो भने बलत्कारीको लिंगलाई चिरेर नुन खुर्सानी दलेर कष्टकर मृत्यु दिंदा पनि बलत्कारको वदला पुरा हुँदैन मेरो नारी मनले भन्छ । तर मृत्युदण्डको सजाय भन्दा पनि उसले पश्चाताप गरेर आफैं आत्महत्या गर्नु ठुलो सजायँ हो । फाँसी भन्दा तत्काल लागु हुन सक्ने दवाव भनेको बलत्कारीलाई नपुशंक बनाउने ईन्जेक्सनको प्रयोग हो । बलत्कारकै कारण आजिवन नपुशंक बन्नु एउटा पुरुषका लागि आत्मालोचना गर्ने ठुलो माध्यम बन्न सक्छ र यो प्रकृतीको अपराध कम हुन सक्छ । उसलाई धरौटीमा रिहा हुन नपाउने कानुनसंगै नामर्दको पहिचान दिलाउन सके मात्र पनि अपराध निराकरणको उपाय हो र यो कानुन लागु हुन पनि सक्छ । मृत्युदण्ड हाम्रो देशमा यति सजिलै लागु हुन सक्दैन र बुद्धको देशमा मृत्युदण्ड दिईनु विश्व समुदायमा पनि हामी सम्पुर्ण नेपालीको लागि पनि दुर्भाग्य हो ।

अर्को कुरा हाम्रो सामाजिक मान्यताको संकुचित दायराका कारण यौन शिक्षा, यौन रोग, यौनले निम्त्याउने समस्याबारे खुलेर बोल्ने वातावरण छैन । देशले आफ्ना जनतालाई यो सिकाउनु पर्योकी यौन आवश्यकता भन्दा पनि एकदमै सामान्य कुरा हो जस्तो की हामी खाना खान्छौं । यौन कुण्ठाका कारण अपराधि बढिरहेछन् भने यौनशिक्षामा परिवार, समाज र बिद्यालय पनि संकुचित बन्दा बलत्कार हुन सक्ने कारण, बच्ने उपाय र बलत्कार पछि पनि खुलेआम सार्वजनिक हुन सक्ने अवस्थाबारे नारी समुदाय अनविज्ञ पनि छ र त्रसित पनि ।

तुलसी गिरी(म्युजिक डायरी)

बलात्कार, हत्या लगायतका जघन्य अपराध गर्नेहरूलाई मृत्युदण्ड दिन सकिन्न भने आजीवन कारावासको सजाय हुनुपर्दछ । कानुनमा बलात्कारको वर्गीकरण र सजायबारे स्पष्ट हुनुपर्दछ । यस्ता अपराधीहरूलाई कुनै पनि बहानामा उन्मुक्ति दिनु हुँदैन । तर वास्तविक बलात्कारीले पैसा र पहुँचको भरमा उन्मुक्ति पाएका र सहमतिमै भएको सम्बन्धमा पनि महिलाले विभिन्न कारणवश ‘बलात्कृत भएँ’ भनेकै भरमा धेरै निर्दोष पुरुषहरूले सजाय पाएका घटनाहरू पनि छन् l कानुन बन्नु मात्र ठुलो कुरा हैन, कार्यान्वयन पनि हुनुपर्दछ । यस्ता घटनाको छानबिन अत्यन्तै संवेदनशील ढङ्गमा गरिनु पर्दछ । यदि कानुन कार्यान्वयन हुँदैन या निर्दोषहरूलाई फसाउने हतियार मात्र बन्छ भने त्यस्तो कानुनको कुनै अर्थ छैन l बलात्कार न्यूनीकरणको लागि मैले कुनै पहलको योजना बनाएको छैन।

राजु लुइँटेल (राष्ट्र खबर)

सर्वप्रथम त देशको कानुन व्यवस्था नै कडा हुनुपर्छ । यस्ता घटनामा संलग्नलाई कठोर दण्ड सजायको कानुनको निर्माण भएमा धेरै हदसम्म यसको निराकरण गर्न सकिन्छ । तर त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा घटना हुन नदिनका लागी महिलाहरूलाई आत्मसुरक्षाका विविध तालिमहरू प्रदान गर्नु अति आवश्यक छ , त्यस लगायत यस्ता घटनाहरूलाई समाजमा लुकाइएको पाइन्छ , अतः घटनालाई बाहिर ल्याएर दोषीलाई कारबाहीको निमित्त आवाज उठाउन समाज नै अग्रसर हुनुपर्छ जस्तो लाग्छ ।

योजना पुरी (अोएस नेपाल)

पहिला सुरुमा किन भइरहेको छ अनुशनधान आवश्यक छ अनि साचौ सोचाइनै गलत भएको मान्छे हो भने चाहिँ भाषीको कानुन बनाउँथे यता गोप्य अङ काट्ने कानुन । मेरो तर्फबाट सकेको गरिहेकी छु गर्ने छु जनचेतना पनि आवश्यक हुन्छ यही गरिरहेकी छु ।

किस्ना आचार्य रोशनी (ताजाखवर)

बलात्कार गर्नेलाई फाँसीको सजाय दिने कानुन आवश्यक छ साथै पीडितको ससम्मान पुनः स्थापना गर्ने कानुनी व्यवस्था हुनुपर्छ।