निवासमै पुगेका नेतालाई माधवले झपारे: ‘बकम्फुसे कुरा लिएर नआउनु’
काठमाडौँ- एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विवाद मिलाउन गठन गरिएको कार्यदलका सदस्यहरूलाई झपारेर पठाएका छन् । विश्वास गरेर जिम्मा दिए पनि ओलीकै लाईनमा आफ्ना माग सम्वोधन नगरी १० बुँदे सहमति गरेको भन्दै आक्रोशित बनेका नेपालले उनीहरूलाई झपारेर पठाएका हुन् ।
ओलीसंग जसरीपनि मिल्नुपर्ने भन्दै शनिबार साँझ नेपाल निवासमै पुगेका आफू पक्षीय वार्ता टोलीका नेताहरूलाई नेपालले अब सहमतिको कुरा नगर्न चेतावनी दिए । नेता नेपालले ओलीकै जीत हुनेगरी गरिएको १० बुँदे सहमतिका आधारमा अब एकता हुन नसक्ने दोहर्याए ।
नेता नेपालले कथित १० बुँदेका आधारमा सहमति गर्ने कुरा अब आफूलाई नगर्न चेतावनी समेत दिएका छन् । उनलाई भेट्न कार्यदलमा रहेका उप-महासचिव घनश्याम भुसाल, गोकर्ण विष्टसहितका नेताहरूलाई नेता नेपालले यो विषय आफूसँग अब राख्दै नराख्न आग्रह गरेका हुन् ।
नेता नेपालको भनाई उद्घृत गर्दै एक नेताले भने, ‘यस्ता कुरा लिएर नआउनुस, ओलीकै जीत हुनेगरी गरिएको यो १० बुँदे ल्याएर अब सहमति गरौँ भन्दै कसरी आउनु भएको ? पछिल्ला नयाँ कुरा केहि भए बताउनुस, यस्ता बकम्फुसे कुरालाई सहमति भन्दै नआउनुस ।’
एकता होला भन्दाभन्दै झनै टाढिएका दुवै पक्ष एक अर्काप्रति झनै क्रुद्ध बन्दै गैरहेका छन् । शनिबार दिउँसो मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालजस्ता देशद्रोहीलाई एमालेमा स्थान नभएको अभिव्यक्ति सार्वजनिक रूपमा दिएका थिए । ओलीले एक कार्यक्रममा त्यसो भनिरहेकै बेला नेता नेपालले भने युद्धको मैदानमा गएको सिपाही डराएर नफर्कने बताएका थिए ।
दुवै पक्षको झनै बढेको आक्रोशले एमालेमा सहमति हुन लागेको भन्दै बाहिर आएका कुराहरू सत्य नभएको देखिन्छ । त्यसलाई पुष्टि हुने गरी नेपालले १० बुँदेका आधारमा सहमति हुन नसक्ने भन्दै आइरहेका छन् ।
आफ्नै समूहका पार्टी मिलाउने कार्यदलमा रहेका नेताहरूलाई यस्ता बकम्फुसे सहमति लिएर एकताको कुरा गर्न नआउनु भन्दै फर्काएपछि एकताको कुरा धनी टाढिएको बताइन्छ ।
नेता नेपालले नेताहरूलाई झपार्दै त्यसो भनेपछि नेताहरू निराश बनेर फर्किएका थिए । उता ओलीले भने २४ घन्टे अल्टिमेटम दिँदै नेपाल समुहलाई कारबाही गर्ने छनक देखाएका छन् ।