विश्वकपबारे बाजी खेल्ने १० हजार जना पक्राउ - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

विश्वकपबारे बाजी खेल्ने १० हजार जना पक्राउ



बैंकक- थाइल्यान्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा १० हजार जना पक्राउ परेका छन्। प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका हुन्।

उनका अनुसार यसअगाडि सन् २०१४ मा भएको विश्वकप फुटबलका बेलाको भन्दा अहिले पक्राउ पर्नेहरूको संख्या दोब्बर भएको हो।

अहिले जारी प्रतियोगिताका खेलहरूबारे बाजी खेल्नेहरू देशभर रहेका छन्। प्रहरीले यसलाई एक प्रकारको जुवाको रूपमा लिएर बाजी खेल्न प्रतिबन्ध लगाउने गरेको भए पनि खेल्नेक्रम भने रोकिएको छैन।

बाजी खेल्दा जुवामा जस्तो ठूलो रकम हारजित हुने भएकाले सामाजिक तथा पारिवारिक अवस्थामा समेत असर पर्ने गरेको छ।

पक्राउ पर्नेमा यस्ता बाजी खेलाउनेहरू पनि परेका छन्। उनीहरूले यसलाई व्यवसायकै रूपमा सञ्चालन गरेको पनि पाइएको प्रहरीको भनाइ छ। रासस/सिन्ह्वा