बझाङमा प्रहरीद्वारा ६ हजार ७ सय लिटर मदिरा नस्ट, एक प्रहरी घाइते - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

बझाङमा प्रहरीद्वारा ६ हजार ७ सय लिटर मदिरा नस्ट, एक प्रहरी घाइते



गणेश विक / बझाङ ।

हिमाली जिल्ला बझाङमा खाद्यान्न अभावमा ग्रामीण भेगका जनतामा भोकमरी भइरहँदा सदरमुकाम चैनपुरमा भने जिल्ला प्रहरीले खाद्यान्न कुहाएर घरेलु मदिरा बनाएको भन्दै पक्राउ गरेको छ । यस क्रममा प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।

मदिरा बरामद गर्ने क्रममा प्रहरी जवान विनोद क्षत्री स्थानीयको ढुंगा प्रहारबाट घाइते भएका छन् । उनको आँखामा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि रेफर गरिएको छ ।

आइतबार वडा प्रहरी बिटका प्रहरी नायब निरीक्षक वीरेन्द्र सिंह कार्कीको नेतृत्वमा खटिएको टोलीले सदरमुकाम जयपृथ्वी नगरपालिका वडा १० भित्रका विभिन्न होटलमा छापा मार्दा अवैध घरेलु मदिराको ठूलो मात्रामा परिणाम भेटिएपछि थप प्रहरी टोली परिचालन गरिएको थियो ।

सदरमुकाम चैनपुर र आसपासका क्षेत्रमा छापा मारी प्रहरीले ६ हजार ७ सय लिटर अवैध घरेलु मदिरा जफत गरी आइतबारै राति १० बजे नष्ट गरिएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए । उनले भने, ‘आज दिउँसो ५ बजेदेखि वडा प्रहरी कार्यालय विटबाट प्रहरी नायब निरीक्षक वीरेन्द्रसिं कार्की र जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी नायब निरीक्षक रामसिंह बोहरा नेतृत्वको टोलीले बजारका विभिन्न होटलमा छापा मार्दा यो परिणाममा मदिरा भेटिएको र नष्ट गरिएको हो ।

पछिल्लो समय प्रहरीले जिल्लामा जुवातास खेल्ने, लागुऔषध कारोबारी र मदिरा नियन्त्रणमा कडाइ गरेको छ ।