जबज कै कारणले नेकपाले बहुमत पाएको हो : प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

जबज कै कारणले नेकपाले बहुमत पाएको हो : प्रधानमन्त्री ओली



पोखरा । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई प्राप्त बहुमत मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जनवाद जबज कै प्रतिफल भएकोले छोड्न नसकिने बताएका छन् । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका स्व. रवीन्द्र अधिकारीको स्मृतिमा गठित रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शुभारम्भमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले पार्टीको नेतृत्वविरुद्ध बोल्ने नेकपाकै कार्यकर्तामाथि प्रहार पनि गरेका छन् । पार्टीविरुद्ध बोलेर बहादुर भइन्छ भन्ने लोभ र भ्रम नपाल्न उनले सुझाव समेत दिए ।

“रवीन्द्र अधिकारी पहिले नेकपा एमालेको नेता–कार्यकर्ता एकतापछि नेकपाको कार्यकर्ता हो, अनुशासित पार्टी कार्यकर्ता हो, पार्टीको नेतृत्वको निर्णयको विरुद्ध जथाभावी बोलेर आफ्नो बहादुरी हुन्छ भन्ने भ्रम नपाल्ने कार्यकर्ता हो,” उनले थपे, “कतिपयलाई भ्रम परेको छ, पार्टीको निर्णयविरुद्ध बोल्यो भने, नीतिका विरुद्ध बोल्यो भने, अनि विरोधीले उचाल्दिन्छन्, बेलुन बनाएर फुकेर ठुलो बनाइदिन्छन्, वा विद्वान त यस्तो हुन्छ भनेर । हो, क्यार भनेर त्यसैमा कुद्ने, त्यो लोभ रवीन्द्र अधिकारीमा थिएन । त्यो भ्रम अधिकारीमा थिएन ।”रवीन्द्रलाई दोषी भन्नेहरु छुद्र मतिका मान्छे र भुइँफुट्टा हुन्

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाईडबडी खरिद प्रकरणमा दोषी ठहर्‍याएका दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको विषयमा ओलीले पुनः निर्दोष भएको बताएका छन् । अधिकारीलाई दोषी भन्नेहरुलाई उनले छुद्र मतिका मान्छे र भुइँफुट्टाको संज्ञा समेत दिए ।

“रवीन्द्र अधिकारी मन्त्री हुनुभन्दा गाडिको प्रसंग ल्याएर बद्नाम गर्ने कोसिस भयो र मैले भने उहाँ यस मामलामा निर्दोष हुनुहुन्छ,” उनले थपे, “एकथरि अत्यन्तै छुद्र मतिका मान्छेहरुलाई साह्र्रै पोलेछ, उहाँ निर्दोष, वास्तवमा निर्दोष हुनुहुन्छ, मैले त्यही कुरा भनेँ, उहाँको कुनै संलग्नता नै छैन, त्यसमा, मैले त्यही कुरा भनेँ । केहि भुइँफुट्टा तत्वहरु, केहि भुईँफुट्टा संस्थाहरु, प्रधानमन्त्रीले यसरी कुनै अदालतले फैसला नगरेका कुरामा निर्दोष छ भन्न पाइन्छ भने, के अदालतले फैसला नगरेका कुरामा दोषी भन्न पाइने, मनपरि भन्न पाइने आरोप लगाउन पाउने, संलग्नता नै नभएको कुरामा निर्दोष छ भन्न नपाइने ?”

गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परि निधन तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएको थियो ।

ओलीले रवीन्द्र अधिकारीको निधन भएपछि निर्दोष भएको बताएका थिए । तर, प्रतिपक्षी दलहरुले भने छानबिन नै नसकी दोषी र निर्दोष करार गर्न नमिल्ने भन्दै विरोध गरेका थिए । उसो त नेकपाकै पदाधिकारी भएका कारण जोगाउन खोजिएको भन्ने आरोपसमेत लागेको थियो । उक्त आरोप लगाउने प्रतिपक्षमा रहेका कांग्रेससहितका दलहरुलाई ओलीले भने, “नेकपाका पदाधिकारीलाई जोगाउन पदाधिकारीले यस्तो भन्न मनासिब भएन, निर्दोष छ भन्न भएन, को हुन ती न्यायाधीश हुने ? केहि भुईंफुट्टाहरु मिलेर एउटा तथाकथित संस्था गठन गर्‍यो अनि त्यसपछि त्यसो छ भन्न पाइन्छ भन्छन् । निर्दोषलाई निर्दोष भन्न किन पाइन्न ? त्यसकारण रवीन्द्र अधिकारी भनेको एउटा स्वच्छ आचरण छवि भएको कर्मठ क्रियाशील व्यक्तित्व हो ।”

यस्तै ओलीले हाल नेकपालाई प्राप्त बहुमत मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जनवाद (जबज) कै प्रतिफल रहेको बताए । यस्तै, रवीन्द्र स्मृति प्रतिष्ठानबाट उनले देखेका सपना पूरा गर्नतर्फ लाग्न र राजनीतिबाट मुक्त राख्न आग्रह गर्दै सरकारले १ करोडको कोष खडा गरिदिने बताए ।
प्रतिष्ठानको तदर्थ समिति अध्यक्षमा रवीन्द्र पत्नी विद्या भट्टराई अध्यक्ष रहेकी छन् ।

रविन्द्रका सोच र दृष्टिकोणलाई स्थायी बनाउन परिवार, साथीभाइ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संयुक्त निर्णयमा प्रतिष्ठान स्थापना गरिएको उनले बताइन् । प्रतिष्ठानले अनुसन्धानात्मक क्रियाकलापलाई जोड दिने बताउँदै भट्टराईले नयाँ ढंगबाट परिचालन गरिने स्पष्ट पारिन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिको अभियानमा सघाउन प्रतिष्ठानले खेलेको भूमिकामा प्रदेश सरकारको तर्फबाट सहयोग रहने समेत उनले बताए ।

स्थापनाको क्रममा ३५ सदस्यीय तदर्थ समिति गठन भएको छ भने ४१ सस्दयीय सल्लाहकार समिति गठन भएको छ ।