प्रचण्ड निकट नेताहरु बालुवाटार आएनन, बैठक स्थगित - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

प्रचण्ड निकट नेताहरु बालुवाटार आएनन, बैठक स्थगित



काठमाडौँ- नेकपाभित्र पछिल्लो समय देखिएको विवाद समाधानको प्रयासस्वरुप नेकपाका दोस्रो तहका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएपनि पूर्वमाओवादी पक्षका नेताहरु अनुपस्थित भएपछि बैठक नबसी नेताहरू फर्किएका छन् ।

ओलीसँग छलफल गर्न भन्दै कार्यदलका सदस्य खासगरी ओली निकट शंकर पोखरेल, विष्णु पौडेल र नेपाल निकट भीम रावल र सुरेन्द्र पाण्डे बालुवाटार पुगेर प्रधानमन्त्रीको सचिवालयको हलमा कुरिरहेका थिए।

तर प्रचण्ड निकट नेताहरु जनार्दन शर्मा आइसोलेसनमा भएको र पम्फा भुसाललाई राज्यव्यवस्था समितिको बैठकमा जानु परेको खबर आएको थियो।

प्रचण्ड निकट दुई जनानै बैठकमा उपस्थिति नहुने भएपछि अन्य कार्यदलका सदस्यहरुले मात्रै ओलीसँग छलफल गर्नुको कुनै अर्थ नभएको भन्दै उनीहरु त्यहाँबाट उठेका थिए।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको साउन ३० गते महासचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

सहमतिको प्रयासस्वरुप गठन गरिएको कार्यदलका सबै सदस्यलाई बालुवाटार बोलाइएको थियो । १५ बुँदे सुझाव अध्यक्षद्वयलाई बुझाएपछि कार्यदल निस्कृय बनेको थियो ।

नेता रावलले आफूहरुले छलफलका लागि ओलीसँग समय मागेको तर बालुवाटार छिरेपछि मात्रै नेता शर्मा र भुसालले खबर गरेको र आफूहरुले उनीहरुको उपस्थितिबिना प्रधानमन्त्री ओलीसँग छलफल गर्न नचाहेको बताए।