दुई सहमति गर्दै सकियो गठबन्धनको बैठक
काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरूको बैठक सकिएको छ । बैठकमा मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी बनेको बताइएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको बताइएको छ । ‘आज बालुवाटारमा बसेको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको छ । सायद आजै केहि निर्णय हुनसक्छ।’ कांग्रेसका एक नेताले भने ।
बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको बताइएको छ । प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने भन्ने विषयमा पनि शीर्ष नेताहरुबीच सामान्य छलफल भएको छ ।
बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।
यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए ।