ओली अनुपस्थित हुने बैठकको रणनीति बनाउँदै प्रचण्ड-नेपाल समूह - Himal Post Himal Post
  • ९ बैशाख २०८२, मंगलवार
  •      Tue Apr 22 2025
Logo

ओली अनुपस्थित हुने बैठकको रणनीति बनाउँदै प्रचण्ड-नेपाल समूह



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । दिउँसो एक बजेका लागि आजको बैठक बोलाइएको छ ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा आफू सहभागी नहुने बताएका छन् । मंगलबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बालुवाटारमा मंगलबारको बसेको बैठकमा दुवै प्रस्तावमाथि औपचारिक रूपमा छलफल सुरू गरिएको र थप छलफल आज हुने बैठक सकिएपछि प्रवक्ता श्रेष्ठले बताएका हुन् ।

प्रवक्ता श्रेठका अनुसार आज दिउँसो १ बजे सचिवालय बैठक बस्नुअघि पहिले अनौपचारिक रूपमा पनि नेताहरूबीच छलफल हुनेछ । प्रधानमन्त्री ओलीले बैठकमा आफू उपस्थित नहुने बताएपछि बैठक कसरी अगाडी बढाउने भनेर नेताहरूले छलफल गर्न लागेका हुन् ।

ओली सहभागी नहुने हो भने बैठक बालुवाटारबाट धुम्बाराहीमा सार्नुपर्ने कतिपय नेताहरुको अडान छ । ‘ओलीजीले अत्याउने हुन्, उनीसँग अन्तिममा चिसै पानीले नुहाउनुको विकल्प छैन,’ नेकपाका एक नेताले भने, ‘हामी आक्रामक ढंगले अगाडि बढ्नुपर्छ भन्नेमा छौं । सम्भवतः हामी बैठकका लागि धुम्बाराही जान्छौं । यद्यपि छलफल जारी छ ।’

प्रचण्डले गत कार्तिक २८ र प्रधानमन्त्री ओलीले मंसिर १३ मा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा प्रस्तुत गरेका थिए । दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलग अलग रुपमा लाने भन्ने बारेमा पनि नेताहरुबीच छलफल भएको छ, तर टुङ्गो भने लागेको छैन ।