राजावादीबाट ‘सुरक्षा थ्रेट’ भएको भन्दै सारियो नेकपा सचिवालय बैठक
काठमाडौं- मंगलबार दिउँसो १ बजे बस्ने भनिएको नेकपा सचिवालयको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सारिएको छ । सुरक्षा खतराको कारण देखाउँदै बैठक धुम्बाराहीबाट बालुवाटार सारेको बताइएको छ ।
बैठक बालुवाटार सार्ने निर्णयविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूहले असहमति जनाएपछि बालुवाटारबाट राजाबादीबाट खतरा भएको जवाफ फर्काएको स्रोतले जनाएको छ ।
सर्वसम्मत निर्णय भएको बैठकस्थल पार्टी कार्यालयबाट सार्ने कुरा हुँदैन भन्ने खबर प्रचण्ड-नेपाल समुहले पठाएपछि राजावादीहरूले हुलदंगा गर्नसक्ने भन्दै बालुवाटारमै राख्न आग्रह गरिएको समेत स्रोतले जनाएको छ ।
राष्ट्रिय अनुसन्धान विभागले दिएको रिपोर्टको आधारमा गृहमन्त्रीले समेत ‘गम्भीर सुरक्षा थ्रेट’ रहेको बताएका थिए । त्यसैलाई आधार मान्दै आज दिउँसो धुम्बाराहीस्थित पार्टी मुख्यालयमा हुने भनिएको सचिवालय बैठक पुनः बालुवाटारमै हुने भएको बताइएको छ ।
ओलीइतरका नेताहरूले भने प्रधानमन्त्री ओलीले बैठकलाई आफूअनुकुल बनाउन यस्तो उपाय अपनाएको बताएका छन् ।