माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठक जारी: धारणा राख्दै नेताहरू - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठक जारी: धारणा राख्दै नेताहरू



काठमाडौं- नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समुहले डाकेको केन्द्रीय कमिटीको बैठक जारी छ । एमालेमा विवाद चर्किंदै गएपछि विभाजन नजिक पुगेको बेला नेपाल समुहले आगामी रणनीति तय गर्न बैठक डाकेको हो ।

केही दिनदेखि दोस्रो तहका नेताबीच भइरहेको छलफलबाट एउटा निष्कर्ष निस्कने अपेक्षा दोस्रो तहका नेताहरुले गरिरहेका छन् ।

बैठकमा नेताहरूले आफ्ना धारणा राखिरहेका छन्। बैठकमा अनौपचारिक वार्तामा भइरहेका प्रगति र आगामी रणनीतिबारे छलफल भैरहेको छ ।

बैठक बोलाइएपछि माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन एमालेले निर्देशन दिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले उक्त बैठक पार्टीको विधान विपरित भएकोले सहभागी नहुन केन्द्रीय कमिटीका सदस्यहरुलाई निर्देशन दिएको हो।

बिहीवार बिहान एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले प्रेस वक्तव्य जारी गर्दै बैठकमा सहभागी नहुन सुचित गरेका थिए। माधव नेपाललगायत नेताहरुलाई अनधिकृत व्यक्ति भन्दै वक्तव्यमा बैठक बोलाइएकोमा भर्त्सनासमेत गरिएको छ।