प्रचण्ड-नेपालले ओलीलाई भने: त्यसो भए अब स्थायी कमिटी बैठक फेस गर्नुहोस - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

प्रचण्ड-नेपालले ओलीलाई भने: त्यसो भए अब स्थायी कमिटी बैठक फेस गर्नुहोस



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद छलफल र वार्ताबाट नासुल्झिने भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड- नेपालको कुरै नसुनेपछि यस्तो अवस्था आएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर भएको छलफलले कुनै निष्कर्षमा पुग्न नसकेपछि बिहिबार वरिष्ठ नेता माधव नेपालसहित बैठक बसेका थिए । आज बिहीबारको बैठकबाट नेताहरूबीच झनै दुरी बढेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओली आफ्नो अडानबाट टसमस नभएपछी प्रचण्ड र नेपालले स्थायी कमिटि बैठक फेस गर्नुहोस भनेका थिए । बिहिबारै बिहान प्रचण्डनिवास खुमलटारमा भेला भएका बहुमत सचिवालय सदस्यहरूले बैठक नरोक्ने निर्णय गरेका छन् ।

पार्टी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले आजको छलफलले कुनै निष्कर्ष निकाल्न नसकेको र भोलि स्थायी कमिटी बैठक राख्‍ने समझदारी भएको जानकारी दिए ।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि अवरुद्ध रहँदै आएको छ । बैठक असार १६ गतदेखि बस्‍न सकेको छैन ।

पछिल्लोपटक असार २६ गतेलाई तय भएको थियो । बाढी, पहिरोका कारण मुलुक आक्रान्त बनेपछि एकसाता बैठक रोक्ने समझदारी भएको थियो । भोलिबाट बैठक सुरु गर्न तीनै नेता सहमत भएको बताइएको छ ।