अध्यक्ष ओलीले डाकेको स्थायी कमिटी बैठक बस्दै: थप कारबाहीको टुङ्गो लाग्ने - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

अध्यक्ष ओलीले डाकेको स्थायी कमिटी बैठक बस्दै: थप कारबाहीको टुङ्गो लाग्ने



काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीले डाकेको नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बस्दैछ । यसअघि स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।

बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल हुनेछ ।

एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक लगातार बस्दै आएको छ । यता आजै पार्टीका नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको बैठक पनि बसिरहेको छ ।

यसअघिको बैठकले माधवकुमार नेपाल पक्षका १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्। एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ ।

आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुनसक्ने बताइएको छ । ओलीले माधवकुमार नेपाल र झलनाठ खनालसहितका सांसदलाई स्पष्टीकरण मागेको भएपनि उनीहरुले स्पष्टीकरण नबुझाउने अडान लिएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि नेपाल-खनालसहित ११ जनालाई ओलीले पार्टीबाट निष्कासित गरेका थिए। पार्टीभित्र विवाद चर्किदै गएपछि नेपाल पक्षले भने बेग्लै पार्टी खोल्ने तयारी गरिरहेको छ।