सर्वदलीय बैठक बालुवाटारमै बस्ने
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार सर्वदलीय बैठक बोलाएका छन् । बैठक शनिबार बिहान बोलाइएको छ ।
ओलीले बिहान ११ बजेका लागि बोलाइएको बैठक बालुवाटारमै बस्ने भएको छ । प्रधानमन्त्री ओलीले बालुवाटार बोलाउँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार नआउने बताए पनि बैठक भने बालुवाटारमै हुने बताइएको छ ।
पछिल्लो राजनीतिक परिवेश, बढ्दै गएको कोरोना भाइरसको महामारीसहितका विषयमा छलफल गर्नका लागि बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बैठकमा बोलाइएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गर्न सकिने प्रयास तथा राजनीतिक गतिरोध अन्त्यबारे छलफल हुने जनाइएको छ ।
पछिल्ला दिनमा देशका विभिन्न क्षेत्रमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा छ । सरकारले १४ जिल्लालाई कोरोना अति प्रभावित घोषणा गरेको छ ।