बैतडीमा ११५ जनाले गरे आत्महत्या - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बैतडीमा ११५ जनाले गरे आत्महत्या



बैतडी । यस जिल्लामा गएको चार वर्षमा ११५ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार यस जिल्लामा आत्महत्या गर्नेको संख्या हरेक वर्ष क्रमिक रुपले बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७१-७२ मा १६ जनाले आत्महत्या गरेकामा आव २०७२-७३ मा यो संख्या बढेर २९ जना पुग्यो । आव २०७३-७४ मा यो संख्या अझै बढेर ३६ पुग्यो । गत आवमा ३१ जनाले आत्महत्या गरेको तथ्याँक छ ।

जिप्रकाका प्रहरी प्रवक्ता कान्तिराज जोशीका अनुसार चालु आवको आजको दिनसम्म ३ जनाले आत्महत्या गरी मृत्युवरण गरेका छन् ।

बैतडीमा आत्महत्या गर्नेको संख्या डरलाग्दो देखिएकाले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो रहेको विज्ञहरु बताउँछन् ।

बैतडीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले आत्महत्या मानसिक असन्तुलनको उपज भएकाले यसको रोकथामका लागि परिवारको सहयोग जरुरी हुने बताउँछन् । उनी भन्छन्– “घरेलु हिंसा न्यून गर्न सकिए आत्महत्याको दर पनि घट्छ । यसको रोकथाम गर्नु समग्र समाजको दायित्व भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुुपर्छ ।”

आत्महत्याका घटना बढ्नु जानाका मुख्य कारण तनाव भएको मनोविज्ञान सम्प्रदाय नेपाल (टिपस)का डा नरेन्द्र ठगुन्ना बताउँछन् । उनी आत्महत्याको घटनामा कमी ल्याउन विद्यालयस्तरदेखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्ने विचार राखेका छन् । टिपसका अनुसार देशभर आव २०७४-७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरेका थिए । रासस