आजको आवश्यकता : वैकल्पिक राजनीति वा राजनीतिक दल` - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

आजको आवश्यकता : वैकल्पिक राजनीति वा राजनीतिक दल`



-सागर भुषाल 

कतिपय विषयवस्तु माथिको बहस पूर्व निर्धारित पक्ष र विपक्षले गर्दा समान निष्कर्षमा पुग्न वा बहसबाट समान धारणा बनाउन अत्यन्तै कठिन हुने गर्दछ। त्यस्तै एउटा कठिन बहस ´आजको आवश्यकता  : वैकल्पिक राजनीति वा  वैकल्पिक राजनीतिक दल` पनि हुन सक्छ। पुराना र नयाँ राजनीतिक दलहरूका यस विषयमा पक्कै आ-आफ्ना जोड्दार धारणाहरू हुन सक्छन्। जब हामी कुनै पनि विषयवस्तु माथिको बहसमा उत्रन्छौँ त्यस विषयको आवस्यक्ता, सम्भाव्यता र त्यस विषयको तात्कालिन र दीर्घकालीन प्रभावहरूलाई मध्यनजर गर्दै बहसमा सहभागी भयौँ भने त्यस्ता कठिन भनिएका बहसका विषयहरूलाई सहजै सही निष्कर्ष मार्फत अन्त्य गर्न सक्नेछौँ भन्ने मेरो विश्वास छ। सोही अनुसार म पनि माथि उल्लिखित विषयमा सकेसम्म तटस्थ भएर आफ्ना विचारहरू प्रस्तुत गर्न गइरहेको छु। मेरा बिचारमा तपाईँ सहमत वा असहमत जे पनि हुन सक्नुहुनेछ।

वैकल्पिक राजनीति या वैकल्पिक राजनीतिक दल भन्ने विषयमा आफ्ना बिचारहरू तपाइहरू माझ पस्कँदै गर्दा मेरो सामान्य मस्तिष्कले बुझेको वैकल्पिक राजनीति र वैकल्पिक राजनीतिक दल भनेको के हो र यसका आधार तत्त्वहरू के-के हुन सक्लान् भन्ने कुरा सर्वप्रथम प्रस्तुत गर्दा मेरा बिचारहरू अल्लि बढी पारदर्शी होलान् भन्ने मेरो बुझाइ छ।

आखिर के हो त वैकल्पिक राजनीति ?सामान्य भाषामा भन्नू पर्दा यस्तो राजनीति जसले गाउँ, समाज र देशलाई नै विकल्प प्रदान गर्न सकोस्। अब फेरि प्रश्न आउँछ कस्तो विकल्प? सधैभरी भात वा रोटी खाइरहेको अवस्थामा अन्य परिकारको स्वाद लिन खाइने परिकार जस्तो सधैभरिको एउटै राजनीतिक माहौल बाट अलिक टाढा बसेर नयाँ माहोलमा आफूलाई अग्रसित गर्न या सधैँभरि खाइराखिएको पोलिस गरेका कम पौस्टिक तत्त्वयुक्त चामलको विकल्पमा स्वस्थबर्धक सन्तुलित आहारको प्रयोग। मलाइ लाग्छ हामी पक्कै पनि दोस्रो बिम्बमा देखाउन खोजेजस्तो वैकल्पिक राजनीतिका पक्षधर हौँ। त्यसै गरी वैकल्पिक राजनीतिक दल भनेको चैँ? साँच्चै नै यो प्रश्न अलि जटिल छ। नयाँ राजनीतिक दल सबै वैकल्पिक राजनीतिक दल हुन सक्लान् त? अवश्य सक्दैनन्। वैकल्पिक राजनीतिक दल हुन कम्तीमा वैकल्पिक राजनीतिलाई आत्मसात् गरेको नयाँ दल हुनुपर्ने छ। वैकल्पिक राजनीतिक दल बन्न वैकल्पिक बिचार, वैकल्पिक दृष्टिकोण अनि त्यस लाइ नतिजामा बदल्न वैकल्पिक राजमार्गको आवस्यक्ता पर्दछ। नेपालमा मौलाइरहेको चरम भ्रष्टाचार, माफिया तन्त्र, नातावाद, कृपावाद लगायतका तमाम समस्याहरूलाई काखी च्यापेर वैकल्पिक राजनीतिक दल बनाउने कुरा फगत मनको लड्डु घिउ सङ्ग खानु जस्तै हो। त्यस्तै तात्कालिन मुद्दाहरूलाई मात्र प्रमुख विषय बनाएर दीर्घकालीन नीति र सिद्धान्त बिना नै वैकल्पिक राजनीतिक दल बन्छ भन्नू पनि उत्तिकै मूर्खता हो भन्दा पक्कै अबान्छ्निय नहोला। तसर्थ वैकल्पिक राजनीतिक दल भन्नाले नयाँ बिचार, सिद्धान्त, नयाँ दृष्टिकोण साथ-साथै नयाँ आचरण जसले इमानको राजनीति गरोस् ,योजना लगायत तमाम विषयहरू समाविष्ट नयाँ राजनीतिक सङ्गठन हो र हुनु पर्छ भन्ने मलाइ लाग्छ।

आजको आवश्यक्ता : वैकल्पिक राजनीति या वैकल्पिक राजनीतिक दल भन्ने विषयमा आफ्ना तर्कहरू राख्दै गर्दा पुराना राजनीतिक दलबाट वैकल्पिक राजनीति र विकल्प दिन सक्ने नयाँ राजनीतिक दलको उदयको सम्भाव्यताका बारेमा बहस गरेनौँ भने पनि त्यसको निचोड सही निस्किन सक्ने कुरामा तमाम शङ्का गर्न सकिन्छ। के सम्भव होला त पुराना राजनीतिक दलबाट वैकल्पिक राजनीति? गणितीय सम्भाव्यताको कुरा गर्ने हो भने पक्कै सम्भव छ, सम्भावना बिलकुलै छैन भन्न सकिन्न तर……….। एउटा तर भन्ने शब्दले यहाँ पक्कै पनि ठुलो शङ्का उब्जेको हुनुपर्छ। कतिपय विषय गणितीय सम्भाव्यतालाई मात्र आधार मानेर यही नै अन्तिम सत्य हो भन्न सकिँदैन किनभने यथार्थमा परिस्थिति अरू केही हुन सक्छ, त्यस्तै पुराना राजनीतिक दल बाट वैकल्पिक राजनीति सम्भव जस्तो देखिए पनि आज सम्मको परिस्थिति हेर्दा त्यसमा विश्वास गर्ने एउटा पनि उपयुक्त आधारहरू देखिँदैन। सत्ता र शक्तिमा रहँदा वा त्यसबाट बाहिर रहँदाका क्रमशः : मात र छटपटी हामीले विगत देखि आज सम्म घाम जस्तै छर्लङ्ग हुने गरेर देखिरहेकै छौँ । यिनीहरूको कार्यशैली हेर्दा लाग्छ , नेपाल अझै १०० वर्षसम्म पनि यस्तै रहन्छ। तर बिलकुलै असम्भव पनि त होइन नि! यिनै पुराना पार्टीहरूमा अत्यन्तै विशाल पङ्क्तिले वैकल्पिक राजनीतिको पक्षपोषण गरेमा र पार्टी भित्र सचेत विद्रोह सुरु गरी त्यसलाई उत्कर्षमा पुर्‍याए भने यिनै पुरानै शक्तिबाट पनि वैकल्पिक राजनीति सम्भव छ तर फेरि उही पुरानै शङ्का बार-बार उत्पन्न भइरहन्छ। सत्ता भन्दा बाहिर रहँदा अलि क्रान्तिकारी देखिने अनि सत्तामा पुगेपछी प्रतिक्रियावादी तत्त्वहरूको प्रभावले उही यथास्थितिवादीमा परिणत हुने न होइनन् । त्यसो भए यसको विकल्प के त? के वैकल्पिक राजनीतिक दल नै यसको विकल्प हो त?

नेपाली जनताले विभिन्न समयमा विभिन्न तरिकाले नयाँ राजनीतिक दलहरूलाई विकल्पका रूपमा आफूलाई स्थापित गर्ने अवसरहरू प्रदान नगरेका होइनन्। ती अवसरहरूलाई त्यतिबेलाका वैकल्पिक भनिएकाहरूले कति सम्म विकल्पहरू नेपाली जनतालाई दिए त्यो अर्को छुट्टै बहसको पाटो बन्नेछ। के अब पनि नेपाली जनताहरू आउने जति सबै दलहरूलाई विकल्पका नाममा देशको ढुकुटी दोहन गर्ने अवसर प्रदान गर्न जरुरी छ? साँच्चै भन्नू पर्दा आजको दिनसम्मको परिस्थिति नियालेर हेर्दा म सानो हुँदा सुनेको ´जुन जोगी आएपनी कान नै चिरेको` भन्ने भनाइ नेपाली राजनीति सङ्ग सबै भन्दा बढी मेल खाएको भनाइ हो भन्दा मलाइ कुनै ग्लानी हुँदैन। विभिन्न आन्दोलनको नाउँमा विभिन्न बिचारका नाउँमा विभिन्न शासकहरू त देशले थुप्रै पायो तर जनताको भावना बुझ्ने असल राष्ट्रसेवक कहिल्यै पाएन। के अब पनि १ राजाको बदलामा हजारौँ छोटे राजाहरू जन्माउन नेपाली जनता बाध्य छन् त?? साँच्चै भन्नू पर्दा नेपाली जनता यति बेला इतिहासकै जटिल मोडमा छन्। उनीहरू पुराना शक्तिहरू बाट आजित भइसके र नयाँ विकल्प चाहन्छन् तर नयाँ भनिएका राजनीतिक दलमा विश्वास गर्ने खास्सै आधारहरू पाइसकेका छैनन्। यो अन्योल देशले कति दिन, महिना वा वर्षसम्म थेग्न सक्ला ?

के मैले माथि भनेकै कुराले मात्र वैकल्पिक राजनीतिक दलको सम्भाव्यतालाई नकार्न सकिएला। के माथि भने जस्तो निराश मात्र हुनु पर्ने स्थिति हो त ? मेरो बिचारमा होइन। वैकल्पिक राजनीतिक दलका रूपमा उदाउन नयाँ भनिएका दलहरूको पनि प्रशस्तै सम्भावना छन्। माथिकै बहसलाई आधार मान्ने हो भने पनि जनता विकल्पमा जान चाहन्छन् तर नयाँ भनिएका राजनीतिक दलहरूमा आफूहरूलाई विकल्पको स्वाद दिन सक्ने फल उनीहरूले भेटेका छैनन्। त्यसो भए नयाँ राजनीतिक बगैँचामा त्यस्तो स्वादिष्ट फल दिन सक्ने छ वा छैन वा हुर्कँदै छ यो आफैमा अर्कै बहसको विषय बन्न सक्छ। तर त्यस्तो बिरुवा उत्पादन गर्न सकेमा जनताले पक्कै पनि त्यही फलयुक्त बगैँचालाई नै स्याहार सुसार गर्नेछन्। यति बेला विश्वको परिस्थितिलाई मध्यनजर गर्ने हो भने विकासको मूल मानिने युरोपेली राष्ट्रहरू र आन्तरिक किचलोबाट ग्रसित हाम्रो नजिकैको छिमेकी देश पाकिस्तानलाई हेर्ने हो भने पनि विश्व वैकल्पिक राजनीतिकै दिशामा अग्रसर हुँदै गएको निष्कर्ष निकाल्न कत्ती गाह्रो नपर्ला।तसर्थ नेपालमा पनि यसको प्रभाव पर्दैन भन्नू विश्व परिस्थितिलाई बेवास्ता गर्नु हो। नेपाल जस्तो चरम भ्रष्टाचार , भासणबाज, नस्लिय र क्षेत्रीय राष्ट्रवादको भुमरीमा परेको देशलाई बहुआयामिक इन्द्रेणी राष्ट्रवादको दिशामा उन्मुख गराउन वैकल्पिक राजनीतिक दलको आवस्यक्तालाइ पनि नकार्न सकिन्न।

माथि वैकल्पिक राजनीतिको सम्भावना र आवस्यक्ताका बारेमा लेख्दै गर्दा फेरि उही पुरानो अविश्वास कतै फेरि पनि वैकल्पिक राजनीतिक दलका नाममा नयाँ छोटे राजाहरूको जन्म त हुँदैन भन्ने शङ्का पनि सङ्ग सङ्गै आउने कुरा स्वाभाविक नै हो जस्तो लाग्छ तर फेरि पुराना दलहरू बाट वैकल्पिक राजनीति गणितीय रूपमा सम्भव भए पनि यथार्थमा भन्नू पर्दा असम्भव जस्तै छ। अब कुन बाटो सही कुन गलत भन्ने विषयको टुङ्गो लगाउने जिम्मा आगामी चुनावसम्म तपाईँ-हाम्रै बहसले गर्ला नत्र जनता जनार्दनले नै सही र उपयुक्त छिनोफानो गर्नेछन् वा भनौँ जनताको अदालतले निर्धारण गर्नेछ।