प्रचण्डसँग कुरा बिग्रेपछि यसरी बन्यो सर्वदलीय बैठकको योजना
काठमाडौं- शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक सर्वदलीय बैठक बोलाए । बैठकमा चर्काचर्का कुरा पनि भए । बिना एजेण्डा बोलाइएको बैठकबारे विभिन्न प्रचारबाजी समेत गरियो । तर त्यो सर्वदलीय बैठकको सुरुमा कुनै योजना भने थिएन ।
प्रचण्डसंग भएको टेलीफोन संवादपछि प्रधानमन्त्री ओलीले शनिबार अपरझट सर्वदलीय बैठक डाके । प्रचण्डसँग संवाद हुँदासम्म सर्वदलीय बैठकको कुनै योजना नै नबनेको बालुवाटार स्रोत बताउँछ । तर, प्रचण्डले बालुवाटार नआउने भन्दै ओलीसँग बैठक बस्न र बालुवाटार आउन रुची देखाएनन् । ओलीले टेलिफोन गरेकोबारे प्रचण्डले उतिखेरै आफू सहभागी कार्यक्रममै बताइदिए ।
प्रचण्डले लामो समयपछि आफूलाई केपी ओलीको फोन आएको र भेट्न बोलाएको बताएको सर्वत्र चर्चा सुरू भयो । सामाजिक सञ्जाल रंगिए । तर, ओलीले यस्तो प्रचार नहोस भन्ने चाहेका थिए । प्रचण्डले ओलीसंग भेट्न अरुची देखाएपछि ओलीले हठात् प्रतिशोधको रुपमा सर्वदलीय बैठक बोलाए ।
ओलीले प्रचण्डसँग संवाद भएको खबर नफैलियोस भन्ने चाहेका थिए । तर प्रचण्ड स्वयम्ले यसबारे सार्वजनिक कार्यक्रममै बोलिदिए । प्रधानमन्त्री ओलीले फोनमा देउवासहित भेटौँ भनेर फोन गरेको केही क्षणमै मिडियामा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको खबर फैलियो । प्रचण्ड गम खाए !
प्रत्यक्ष संवादमा देउवासहित भेटौँ न भन्ने तर सर्वदलीय बैठकबारे केही नभन्ने ओलीको नियतसँग रुष्ट भएका प्रचण्डले शनिबारको सर्वदलीय बैठक बहिस्कार गरे ।
प्रचण्डले अहिले किन सर्वदलीय बैठक चाहियो ? भन्दै ओलीले डाकेको सर्वदलीय बैठकको औचित्यमा प्रश्न उठाएको निटक नेताहरुले बताएका छन् । प्रचण्डले भनेका थिए, ‘अहिले सर्वदलीय बैठक बस्नुपर्ने त्यस्तो खास परिस्थिति होइन । त्यसमा पनि टेलिफोनमा देउवासहित भेटौँ न मात्र भनेका थिए । फेरि कहाँबाट आयो सर्वदलीय बैठक ? यो अर्थहित बैठक हो । त्यसैले हामी सहभागी हुनुपर्छ भन्ने छैन ।’
प्रधानमन्त्रीले अचानक सर्वदलीय बैठक भनेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्य नै अलमलमा परेको बालुवाटार स्रोत बताउँछ । स्रोतअनुसार शनिबारको सर्वदलीय बैठकममा सहभागी सबै नेतालाई शुक्रबार अबेर मात्र खबर गरिएको थियो । कतिलाई त खबर नै गरिएन ।
एमसीसीमा ओलीको मरिहत्ते
प्रधानमन्त्री ओली कुनैपनि हालतमा अत्याधिक विवादित विषय ‘एमसीसी’ आफ्नै पालामा संसदबाट पारित गर्न चाहन्छन् । तर, राष्ट्रिय सहमतिविना एमसीसी पारित हुने अवस्था छैन । त्यसैले ओली एमसीसी पारित गर्न प्रचण्ड–देउवाको साथ खोज्दैछन् ।
सदनमा टेवल हुन नदिएको भन्दै ओली बारम्बार सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध जंगिदै आएका छन् । शनिबारको सर्वदलीय बैठकमा पनि ओली सभामुखविरुद्ध खनिएका थिए । यसले पनि एमसीसी पारित गर्न ओली प्रचण्ड–देउवाको साथ खोज्दैछन् भन्ने पुष्टि हुन्छ ।