वैद्य र विप्लव बीच कार्यगत एकता - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

वैद्य र विप्लव बीच कार्यगत एकता



 चितवन- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ।

मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै चारबुँदे संयुक्त विज्ञप्ति जारी गरेको हो। नेकपा (क्रान्तिकारी माओवादी) चितवनकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीका अनुसार केन्द्रस्तरमा जारी सहकार्यलाई जिल्लामा समेत निरन्तरता दिन यसरी कार्यगत एकता गरिएको हो।

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज लालबहादुर बिसी र नेकपा (क्रान्तिकारी माओवादी) की जिल्ला इन्चार्ज अम्बिका मुडबरीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा राष्ट्रियता, जनतन्त्र र जनजीविकामा गम्भीर प्रश्न उब्जिएकाले एकता गरेर अघि बढ्ने उल्लेख गरिएको छ।

सार्वजनिक गरिएको चार बुँदा सहमतिमा केन्द्रस्तरमा जारी सहकार्यलाई निरन्तरता दिने, फागुन २१ गतेसम्म चल्ने सहिद सप्ताह संयुक्त रुपमा मनाउने, फागुन १९ गते सहिद परिवार भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आगामी दिनमा सहकार्य गर्दै संयुक्त रुपमा कार्यक्रम अघि बढाउने उल्लेख छ।