वैद्य माओवादीको आरोप: बाम सरकार काम नलाग्ने भयो
वाम सरकार समस्या समाधान भन्दा बल्झाउन तर्फ उद्दत रहेको आरोप नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले लगाएको छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उत्पीडित वर्ग र जनतामाथि धान्नै नसकिने गरी लगाइएको राजस्व तथा करभार हटाउन माग गरेको छ । त्यस्तै महंगी नियन्त्रण गर्न, बेरोजगारीहरुलाई रोजगारी र बेरोजगार भत्ता दिन, महिलाहरुमाथि हुँदै आएका हत्या, हिंसा तथा बलात्कारका जघन्य अपराध रोक्न समेत क्रान्तिकारी माओवादीले माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मजदुरहरुको बेतन मागलाई अत्यन्तै न्यून बनाइएको छ र उनीहरुलाई आवश्यक सुविधाबाट पनि बञ्चित गरिएको छ । आफूलाई वाम बताउने सरकार यस प्रकारका समस्याहरुलाई गम्भीरतापूर्वक लिई समाधानतर्फ होइन बल्झाउने तर्फ उद्दत भइरहेको छ । हाम्रो पार्टी सरकारका यसप्रकारका जनविरोधी क्रियाकलापको दृढ विरोध गर्दछ ।’