बहुमत देखाउन ओली समुहको तिकडमबाजी
हिमालपोस्ट- पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समुहले केन्द्रिय समिती बैठक डाकेपछि त्यसलाई काउण्टर दिन केपी शर्मा ओलीले पनि समान प्रकारको बैठक बोलाए । प्रधानमन्त्री निवास वालुवाटारमा हतार हतार डाकिएको भेलामा बैध केन्द्रिय सदस्यहरुको उपस्थिती न्यून हुनेदेखेपछि ओली समुहले तिकडमबाजी शैली अपनाएको छ ।
नेकपाको बैध केन्द्रिय सदस्यको संख्या ४४१ हो । निर्वाचन आयोगमा रहेको अभिलेखले त्यही भन्छ । तर आफ्नो भेलामा कुल सदस्य संख्याको ३० प्रतिशत हाराहारी मात्रै उपस्थित हुनेभएपछि ओली समुहले अर्को चाल चल्यो । उपस्थिती भव्य देखाउन र संख्या धेरै बताउन रातारात विभिन्न जिल्लाबाट कार्यकर्तालाई काठमाडौं झिकाइयो ।
‘एकाएक तत्काल भोली विहान ९ बजे वालुवाटारमा हाजिर हुनुभन्ने म्यासेज आयो’ आजै केन्द्रिय सदस्यको सपथ खाएका एक नेताले हिमाल पोष्टलाई भने, ‘रातारात आइयो, मलाई केन्द्रिय सदस्यमा मनोनीत गरेको यहि आएर थाहा भयो ।’
ती नेताको भनाईबाटै पुष्टि हुन्छ कि आजको भेलालाई संख्यात्मक भव्य देखाउन ओली पक्षले विना तयारी देशैभरबाट नेता कार्यकर्ता बटुलेको थियो । अनि केन्द्रिय सदस्य संख्या ११९९ पुर्याइएको घोषणा गरियो । मौजुदा ४४७ केन्द्रिय सदस्यलाई समेटदै नयाँ ५५६ जना मनोनयन गरेको बताइयो । त्यसपछि प्रचार गरियो ५०० बढी केन्द्रिय सदस्यले वालुवाटारमा सपथ लिए भनेर जबकी सार्वजनिक तस्विर हेर्दा त्यो पत्याउन मुस्किल पर्छ । सार्वजनिक भएका तस्विरमा उपस्थित संख्या एकदमै कम देखिन्छ ।
त्यतिमात्र होइन बिहान नौ बजे बोलाइएको बैठक निर्धारित समय भन्दा दुई घण्टा पर धकेकिएको थियो । बिहान १० बजेसम्म एकदमै न्युन कार्यकर्ता मात्र बालुवाटार पुगेपछि नेताहरू अत्तालिएका थिए । दस बजेसम्म बैठक नबसेको थाहा पाएपछि हामीले एक नेतालाई सम्पर्क गर्दा कार्यकर्ताहरू अझै आउन बाँकी भएकाले बैठक सुरू हुन नसकेको बताएका थिए । उनले आफूहरू बैठक स्थलमै भएको र केहीबेरमा सुरू हुने बताएका थिए ।
११ बजे सुरू भएको भेलामा पनि कहिलै नदेखिएका अनुहार धेरै भएको एक केन्द्रीय सदस्यले बताए । उनले केन्द्रीय सदस्य वा नेता नै भएको भए हामीले चिनिन्थ्यो कमिटि भन्दा बाहिरबाट नै बोलाइएको जस्तो लागेको उनले बताए ।