प्रदेशसभा बैठक बहिस्कार गर्ने तयारी
काठमाडौं- नेकपा एमाले लुम्बिनी प्रदेशले सर्वोच्च अदालतको निर्णय कुर्ने भएको छ । बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकले १२ बजेसम्म अदालतको आदेश कुर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । उनले त्यसपछि मुख्यमन्त्री शंकर पोखरेलले आवश्यक निर्णय गर्ने जानकारी दिए ।
एमाले सांसद भूमिश्वर ढकालले राजीनामाको विषयमा निर्णय गर्ने अधिकार मुख्यमन्त्री पोखरेललाई दिएको जानकारी दिए । उनले आजको बैठकले प्रदेशसभाभित्रका सबै गतिविधिलाई सहमतिमा अगाडि बढाउने सन्र्दभमा कार्यव्यवस्था तथा परमर्श समितिको बैठक नराखेर सभामुख पूर्ण बहादुर घर्तीले नियम कानून लत्याउने काम गरेको बताए ।
उनले सभामुखले एकलौटी रुपमा प्रदेशसभामा सञ्चालन गर्दा सहमति र सहकार्यमा सञ्चालन नगरेको भन्दै संसदीय दलको बैठकले आपत्ति जनाएको बताए ।
उनले प्रदेशसभाको बैठक अधिवेशन बहिस्कार गर्ने संकेत गरेका छन् । सांसद ढकालले प्रदेश प्रमुखले गैर संवैधानिक कार्य गरेकोले आफुहरुले सहयोग गर्नैपर्छ र सदनमै बस्न पर्छ भन्ने नभएको बताए ।
‘प्रदेश प्रमुखले गैर संवैधानिक कार्य गरेकोले आफुहरुले सहयोग गर्नैपर्छ र सदनमै बस्न पर्छ भन्ने छैन,’ ढकालले भने ।
बैठकमा प्रदेश प्रमुखबाट संविधानमा नभएको विषयलाई अगाडि बढाएर धारा १६७ को(१) अनुसार बनेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव गरेको भन्दै ध्यानाकर्षण गराएको छ ।