बैठकबाट एकाएक बाहिरिए प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बैठकबाट एकाएक बाहिरिए प्रधानमन्त्री ओली



काठमाडौं – नेकपाको जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बिचैमा निस्किएका छन् । तेस्रो दिनको बैठकमा केहीबेर बसेका ओली बिचैमा बाहिरिएका हुन् ।

स्वास्थ्यमा समस्या आएको भन्दै प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको बताइएको छ । बुधबारबाट सुरु भएको स्थायी कमिटीको बैठकमा शुक्रबार १८ जना स्थायी कमिटीले बोलेका थिए।

तर, शुक्रबार प्रधानमन्त्री ओली अनुपस्थित भएपछि नेताहरुले असन्तुष्टि पोखेका थिए। शुक्रबार कार्यव्यस्ततालाई देखाउँदै सहभागी नभएका ओली शनिबार स्वास्थ्यलाई समस्या देखाउँदै बैठकबाट निस्किएका हुन्।

पार्टीभित्र तीव्र विवादबीच बसेको बैठक प्रधानमन्त्रीले छल्न खोजेको आरोप नेताहरुले लगाउँदै आएका छन्। नेकपाले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार, अमेरिकी सहयोग परियोजना एमसीसी, नागरिकता संशोधन विधेयक, सरकारका काम, पार्टीको एकीकरणका बाँकी काम लगायतका एजेण्डा तय गरेर बैठक बसिरहेको छ।

नेताहरुले मुख्यगरी सरकारको कामको समिक्षा गर्न चाहेका छन्। तर, प्रधानमन्त्री ओली सहभागि नभएपछि शुक्रबारको बैठक नेपाल भारत सिमा समस्यामा केन्द्रीय भएको थियो। बैठकमा परराष्टमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्या समाधान गर्नको लागि भारत वार्ता बस्न तत्पर नभएको जानकारी गराएका थिए।

तर, नेताहरुले तत्काल सरकारले भारतसँग वार्ता गर्नुपर्ने भन्दै दबाब दिएका थिए।