मध्यरातमा ओली–नेपाल गोप्य भेट: ओलीसँग सहकार्य गर्न यस्तो प्रस्ताव
काठमाडौं- नेकपाभित्र अन्तर्विरोध उत्कर्षमा पुगकै वेला वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशनबाट पार्टी अध्यक्ष बनाए केपी ओलीसँग सहकार्य गर्न सकिने प्रस्ताव अगाडि सारेका छन् । शुक्रबार अबेर रात बालुवाटारमा भएको छलफलमा नेपालले यस्तो प्रस्ताव राखेका हुन् ।
‘महाधिवेशनबाट पार्टी अध्यक्ष र त्यसअगाडि महाधिवेशन आयोजक समिति संयोजक बनाए सहकार्य सम्भव छ,’ नेपालले ओलीसँग राखेको प्रस्ताव उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो । ओलीले थप छलफल गरेर एउटा निष्कर्षमा पुग्ने आश्वासन दिएका छन् ।
जब कि त्यसै दिन दिउँसो नेपालले ओलीमाथि आक्रामक अभिव्यक्ति दिएका थिए । ‘विधिको पालना नगरेर ‘मै स्टेट हुँ’ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो, आफूलाई मात्रै केन्द्रबिन्दुमा राख्न थालियो, आफूबाहेक दुनियाँमा कसैको अर्थ छैन भन्ने ठान्न थालियो, त्यस्तो अहंकारको भावनाबाट चल्न थालियो भने त्यस्तो अवस्थामा त्यो व्यक्ति र प्रवृत्तिको पतन हुनेबाहेक अर्को केही पनि हुँदैन ।
यदि हामी कोही त्यस्तो विचार र प्रवृत्तिमा चुर्लुम्म डुबेका छौँ भने त्यसबाट उम्किऔँ, जोगिऔँ । समय छ, तर समय धेरै ढिला हुन थालिसकेको छ,’ पुष्पलाल स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा नेपालले भनेका थिए, ‘आफूसँगसँगै आन्दोलनलाई नै समाप्त पार्ने मूर्खतापूर्ण काम कसैबाट नहोस् ।
बहुमतको निर्णय नै पार्टीको निर्णय हुनेछ भन्ने कुरालाई सबैले पालना गर्नुपर्छ । म मान्दिनँ भन्ने छुट कसैलाई पनि छैन । सबैमा यो चेत पलाउनेछ । हामी सबैले जिम्मेवार भएर सोचौँ । आफूलाई अपरिहार्य नठानौँ, सबैको बुद्धि, खुबी, क्षमता, योग्यता र आ–आफ्नो भूमिका सम्झेर अगाडि बढौँ र कमीकमजोरी सुधारौँ ।’ शुरोजङ्ग पाण्डेले नयाँ पत्रिकामा लेखेका छन् ।