प्रचण्डले भने बाहिर देखिने गरेर केही काम भएको छैन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्डले भने बाहिर देखिने गरेर केही काम भएको छैन



सिन्धुपाल्चोक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केहीदिनै तल्लो स्तरसम्म पार्टी एकता हुने बताएका छन् ।

बुधबार चौतारा साँगाचोकगढी नगरपालिका–४ स्थित सेतीदेवी पञ्चकन्या माविको ४२ औं बार्षिकोत्सवमा उनले छिट्टै देशभर एकताको सन्देश दिने बताए । ‘केही प्राविधिक कारणले एकता प्रक्रियामा ढिलाइ भएको छ, अब केहीदिनमा नै टुङ्गोमा पुग्छ’ उनले भने ।

सचिवालय बैठकले कार्यदललाई छिटो प्रतिवेदन बुझाउन निर्देशन दिएको र अब बस्ने सचिवालय बैठकले त्यसलाई पारित गर्ने उनको दाबी छ ।

सचिवालयले बनाउने एकताको मोडललाई स्थायी कमिटी बैठकले अन्तिम रुप दिएपछि देशभर एकताको सन्देश लिन कार्यक्रम गर्ने उनले बताए । ‘पार्टी कमिटीमात्रै होइन जनसंगठनको एकता पनि तल्लो स्तरसम्म एकै पटक टुङ्गो लगाउँछौं’, प्रचण्डले भने, ‘फागुन र चैत महिनाभर पार्टी एकताको सन्देश लिएर नेताहरु जाने कार्यक्रम बनाउँछौं ।’

त्यसले पार्टीसँगै सरकारको पक्षमा तागत पैदा गर्ने उनले दाबी छ ।

अध्यक्ष प्रचण्डले सरकारले छोटो अवधीमा धेरै काम गरेको बताए । ‘बाहिर देखिने गरेर केही काम भएको छैन तर, भित्रभित्रै धेरै काम भएको छ, एउटा युगन्तकारी परिर्वतन भएको छ’, उनले भने, ‘अब त्यो बिस्तारै बाहिर पनि देखिन्छ र सरकारको काम देखिन्छ ।’

सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सरकार लागेको र त्यसका लागि नयाँशिक्षा ऐन ल्याउन खोजेको उनले प्रष्ट पारे ।