कांग्रेस महाधिवेशन: बहालवाला मन्त्री नै केन्द्रीय सदस्यमा पराजित
काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कतिपय चर्चित अनुहार समेत केन्द्रीय सदस्यमा पराजित बनेका छन् । यस्तैमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की पनि कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् ।
३५ जना निर्वाचित हुनेमा उनले ३७ औँ मत प्राप्त गरेका छन् । शेखर कोइराला समूहबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनले १६४४ मत पाएका छन् । उनी ६४ मतले पराजित भएका हुन् ।
बहालवाला मन्त्री भएर पनि कार्की पार्टीको केन्द्रीय सदस्यमा पराजित बनेका छन् । महामन्त्रीमा पराजित भएलगत्तै केन्द्र सरकारका रक्षामन्त्री रहेका मिनेन्द्र रिजालले तत्काल नैतिकताको आधारमा राजीनामा दिएका थिए । उनले नैतिकताको आधारमा राजीनामा दिन्छन या दिन्नन् हेर्न बाँकी छ ।
यस्तै कर्णालीका बहालवाला मुख्यमन्त्री जीवन शाहीले पनि कांग्रेस पदाधिकारीमा पराजित भएका छन् । उनले भने अहिलेसम्म नैतिकताको आधारमा राजीनामा दिएका छैनन् ।
कार्की प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत थिए ।