बागलुङको बलेवा विमानस्थल सञ्चालनमा आउँदै - Himal Post Himal Post
  • १९ पुष २०८१, शुक्रबार
  •      Fri Jan 3 2025
Logo

बागलुङको बलेवा विमानस्थल सञ्चालनमा आउँदै



बागलुङ । बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ । आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले गरेको प्राविधिक अध्ययन प्रतिवदेनको सुझाव अनुसार काम भइरहेको हो । सोमबार प्राधिकरणको प्राविधिक टोली आवश्यक यन्त्र, उपकरण जडानका लागि आइपुग्ने बागलुङ नगरपालिकाले जनाएको छ ।

आउँदो सातासम्म विमानस्थल सञ्चालनको अन्तिम सम्झौता हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । यसअघि गत पुसमा प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच चैतमा नियमित उडान शुरु गर्ने सहमति भएको थियो ।

सोही सहमतिपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनको आवश्यक तयारी अघि बढाएको थियो । प्राधिकरणका प्रबन्धक इन्दुराज अधिकारी र इञ्जिनियरद्वय ताराकान्त शाह र मीनराज ओझाको टोलीले विमानस्थलको प्राविधिक अध्ययन गरेको थियो ।

प्राविधिक टोलीले दिएको सुझावअनुसार मर्मत, सुधार र पूर्वाधार तयारीको काम अन्तिम चरणमा पुगेको प्रमुख पौडेलको भनाइ छ । “लक्ष्यित समयमै विमानस्थल चल्छ,” प्रमुख पौडेलले भन्नुभयो – “आउँदो सातासम्म विमानस्थल सञ्चालनको अन्तिम सम्झौता गर्दैछौं ।” उहाँकाअनुसार उडानलाई सहज बनाउन विमानस्थलको दक्षिण पूर्वमा रहेका सल्लाका रुख हटाउने काम भइरहेको छ । यस्तै, व्यवस्थित तारबार र सुरक्षा प्रबन्धको काम पनि भइरहेको जनाइएको छ ।

विमानस्थलको मर्मतसम्भार, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा भने प्राधिकरणले लिएको छ । विमानस्थलसम्म पुग्ने सडकको स्तरवृद्धिलगायत अन्य पूर्वाधार निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ ।

यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा समेत नगरपालिकाले पहल गर्ने यसअघि भएको सहमतिमा उल्लेख छ । बागलुङ सदरमुकामदेखि ८ किलोमिटरको दुरीमा रहेको विमानस्थलसम्म पुग्न तत्काललाई कालीगण्डकी करिडोरको कच्ची मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ ।

विसं २०२२ मा निर्माण भएको विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि २०४८ सालमा आएर बन्द भएको थियो । बन्द विमानस्थल सञ्चालनमा ल्याउन पटकपटक पहल गरिए पनि त्यसले सार्थकता पाउन सकेको थिएन ।

सरकारीस्तरबाट विमानस्थल सञ्चालनमा ल्याउने आश्वासन आउने गरेपनि त्यो आश्वासनमै सीमित हुने गरेको थियो । पछिल्लो सहमतिपछि भने विमानस्थल चल्नेमा स्थानीयवासी ढुक्क छन् ।

धवलागिरि क्षेत्रको पर्यटनलगायत समग्र विकासका लागि बलेवा विमानस्थलले महत्वपूर्ण टेवा पु¥याउने ठानिएको छ । (रासस) / फाइल तस्बिर :