देशभर वर्षाको वितण्डा: ललितपुर र दाङमा गाडी बगायो, सयौं घर जोखिममा
काठमाडौं– लगातारको वर्षापछि आएको बाढी पहिरोले देशका विभिन्न स्थानमा धनजनको ठूलो क्षति भएको छ । विभिन्न स्थान डुबानमा परेका छन् भने पहिरोका कारण सडक अवरुद्ध भएका छन् । नागरिको दैनिकी कष्टकर बनेको छ ।
काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा सोमबार बिहानैदेखि पानी परेको छ । दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।
लुभुमा गाडी बगायो
लगातारको वर्षापछि आएको बाढी ललितपुरमा एउटा गाडी बगाएको छ । ललितपुर महानगरपालिका ८ लुभुमा वर्षापछिको बाढीले गाडी बगाएको हो । लगातारको वर्षाले हिरा महर्जनको घरका तल्लाे तला डुबेको छ । थप विवरण आउन बाँकी छ ।
नेपालगञ्ज पानीले जलमग्न
मुसलधारे पानीले नेपालगञ्जको अधिकांश टोल जलमग्न भएका छन् । पानीको यथोचित निकास नहुँदा सडक जलमग्न भएर घर, पसलमा पानी पस्दा व्यक्तिका धन सम्पत्तिको नोक्सानी भएको छ ।
नेपालगञ्जको बेलासपुर, धम्बोझी, घरबारीटोल, गणेशपुर, कोरियनपुर, न्यूरोड, सेतुविक चोकलगायतका टोल डुबानमा परेका छन् । अपरान्ह नगरपालिकाले नाला सफा गरेर निकास खोल्न थालेपछि स्थानीयवासीले केही राहत महसुस गरेका छन् ।
यसैबीच स्थानीय प्रशासनले बाँके जिल्लाका राप्ती र डुडुवा नदीतटीय क्षेत्रका बासिन्दालाई बाढी र डुबानबाट जोगिन सतर्क रहन आग्रह गरेको छ ।
दाङमा बस बगाउँदा एक दर्जन यात्रु घाइते
तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् । धनगडीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस आइतबार बेलुका खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण सल्यानका सात सय घर जोखिममा
लगातारको वर्षाका कारण सल्यान जिल्लामा ७०० भन्दा बढी घर पहिरोको जोखिममा रहेका छन् । लगातारको वर्षाले ठाउँठाउँमा पहिरो जाने क्रम शुरु भएसँगै जिल्लाका ७०० भन्दाबढी घर परिवार पहिरोको जोखिममा रहेको जिल्ला भू–संरक्षण कार्यालयले जनाएको छ ।
जोखिममा रहेका बस्तीमा कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, बागचौर नगरपालिकाको बाँफुखोला र कोटबारा, बनगाड कुपिण्डे नगरपालिकाको ब्युरेनी, निगालचुलालगायतका रहेका छन् । ती बस्तीमा बसोबास गर्ने ७०० बढी घरपरिवार पहिरोको जोखिममा रहेको भू–संरक्षण कार्यालय प्रमुख वीरेन्द्रप्रसाद पटेलले जानकारी दिए । जंगल मासेर सडक निर्माण गर्नेक्रम पछिल्लो समय बढ्दै गएका कारण पहिरोको जोखिम बढेको उहाँको भनाइ छ ।
नारायणगढ मुग्लिन सडक अवरुद्ध
निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध भएको हो ।
जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ ।
त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा आज बिहान ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । फिस्लिङ इच्छाकामना गाउँपालिका–३ मा पर्दछ । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।
अझै खुलेन लोकमार्ग
पहिरोले अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अझै सञ्चालन भएको छैन । काठेखोला गाउँपालिका–१ पाला र ६ को टापुमा गएको पहिरोले लोकमार्गमा सवारी आवातजावत ठप्प छ ।
पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दुरीमा चल्ने सवारी साधनबीचमै रोकिएका छन् ।
जाजरकोटमा नौको मृत्यु
जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी नौं जनाको मृत्यु भएको छ । भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहरा र गोपाल सुनारको घर पहिरोले पुर्दा उनीहरुको मृत्यु भएको हो ।