नेकपामा हङ्गामा, गृहमन्त्री बादलको राजिनामा माग्ने तयारी - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

नेकपामा हङ्गामा, गृहमन्त्री बादलको राजिनामा माग्ने तयारी



काठमाडौं । सरकार र सिके राउतबीच ११ बुँदे सहमति भएदेखी नेकपामा हङ्गामा खडा भएको छ । पार्टी र सरकारमा यसको दुईधार प्रष्ट देखिएको छ भने अन्य पार्टी र नागरिकले समेत सरकार सब्दजालमा फसेको बताएका छन् ।

यसै बिषयलाई लिएर सम्झौता गर्ने सरकारका गृहमन्त्री रामबहादुर थापा बादलको राजिनामा माग्ने तयारी भएको भिम रावलले बताएका छन् । रिपोर्टस क्लवले आयोजना गरेको कार्यक्रममा बोल्दै रावलले यस्तो बताएका हुन् ।

उनले यो सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामाबारे अब बस्ने बैठकमा छलफल हुने पनि जिकिर गरे । उनले भने,‘अब बस्ने पार्टीको बैठकमा यो विषयमा छलफल हुन्छ।’

रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्येश्य, गन्तव्य र एउटा स्पष्ट धारणा हुनुपर्नेमा सिके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाए । उनले भने,‘राउतजीले यदि नेपालको संविधानअनुसार अघि बढ्छु र यसअघि देश टुक्र्याउने र विखण्डनकारी अभिव्यक्ति दिएकोले अब म फिर्ता लिन्छु भनेर भन्नुपर्दथ्यो । तर, उहाँले त्यस्तो केही पनि भन्नुभएन ।’

उनले आफ्नै पार्टीका कतिपय साथीहरुले स्वतन्त्र मधेश संगठन भनेको त नाम हो भनेर हाँस्यस्पद तर्क गरेको पनि आरोप लगाए । उनले भने,‘भोलि कसैले नेपाल समाप्त पार्टी गठन गर्यो भने सरकारले सहमति गर्ने त ? यो तर्क नै गलत हो ।’

हिजो भएको सहमति नेपालको संविधानविपरित र पार्टीको विधानविपरित भएको उनको टिप्पणी छ । आफू कम्युनिष्ट पार्टीको सच्चा कार्यकर्ता भएकोले पार्टीको विधानो प्रतिरक्षा गरेको पनि उनले स्पष्ट पारे । उनले भने,‘मधेश टुक्र्याउँछु भन्नेहरुसँग जनमतसंग्रह गर्न सहमत हुने हो ? यो कुरा संविधानले अनुमति दिन्छ त ? नेकपाको घोषणापत्रले अनुमति दिन्छ त ? म प्रश्न गर्न चाहन्छु।’

रावलले कसको स्वार्थमा यत्रो सहमति गरियो ? भन्दै सरकारलाई प्रश्न गरे । उनले भने,‘सरकारले यसको जवाफ दिनुपर्छ । सहमतिको बुँदा नम्बर ४ मा स्व–शासनको कुरा उल्लेख गरिएको छ, जुन कुरा हामीले संविधानमा समेत मानेका थिएनौं । अहिले फेरि यो कुराले प्रवेश किन पायो ?’

राउतले हिजोको सहमति कार्यक्रममा बडो कलात्मक रुपमा आफ्नो सम्बोधन गरेको पनि सुनाए । उनले थपे,‘उहाँले कतैपनि राष्ट्र विखण्डनको कुरा फिर्ता लिनुभएको छैन् । अहिलेपनि उहाँले बोलेका विखण्डनका कुराहरु छ्याप्तछ्याप्ती पाईन्छन् । बरु, उहाँले विगतमा मैले बोलेका कुराहरु ठीक थियो भनेर पुष्टि गर्न खोज्नुभयो ।’

उनले यत्रो सहमति गर्दा पनि पार्टीभित्र छलफल नभएकोमा आक्रोश पोखे । उनले भने,‘पार्टीमा यस विषयमा छलफल गर्नुपर्दैन ? मैले त सहमति हुन्छ भन्ने थाहा पाएपछि नेताहरुमार्फत आफ्नो मत प्रेषित गरेको थिएँ । हाम्रै पार्टीका साथीहरुले पनि भाषाहरु परिवर्तन गर्नुपर्छ भन्नुभएको थियो । तर, सच्याईएन । पार्टी भनेको सामूहिकतामा चल्नुपर्छ । एक दुई जनालाई जे मन लाग्यो, त्यही गर्ने भए किन पार्टी चाहियो ?’

उनले भने,‘हाम्रो अध्यक्ष प्रचण्ड र सिके राउतको आँटको तुलना गर्नुभयो, यसमा मलाई दुःख लाग्यो । देशद्रोही हो भनेर राउतलाई सरकारले जेल पठाएको व्यक्ति र हाम्रो अध्यक्ष प्रचण्डको चरित्र एउटै हो भनियो, यसको जवाफ प्रचण्डजीले दिने हो।