बादलका चार सन्देश: चुनाव पनि हुँदैन, संसद पनि ब्युँतिदैन
काठमाडौं- केहि समयदेखि रजर्भ रहेका गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्री ओली पक्षमा खुलेका छन् । लामो मन्थन र परामर्शपछि उनी ओली पक्षमा खुलेका हुन् । उनले पार्टी अनौपचारिक रूपमा बिभाजन भएपछि पनि केहिदिन नियालिरहेका थिए ।
हत्तपत्त नबोल्ने बादललाई नजिकबाट चिन्नेहरू कहिले यो बादलको बाध्यात्मक कदम भनेका छन् भने कहिले अवसरवादी भएको बताएका छन् । तर लामो समय प्रधानमन्त्री ओलीसंग काम गरेका, उनैको नेतृत्वमा ३ वर्ष गृहमन्त्री बनेका बादलले अन्तिम घडीमा ओलीलाई नै साथ दिनुमा केहि रहस्य भने लिकेका छन् ।
आफ्ना पक्षका सबैजसो नेताहरूले प्रचण्ड-नेपाल पक्षमा खुलेरै लाग्दा पनि बादल एक्लै ओली पक्षमा जानुले मुख्य चार संदेश दिएका छन्।
संसद पुनस्थापना हुँदैन
थापाको यो कदमलाई लिएर उनलाई नजिकबाट बुझ्नेहरुका विभिन्नखालका अड्कलबाजी छन् । उनीहरु मध्येका केहीको बुझाई छ– थापाको ओलीसँगको सहकार्य संसद पुनस्थापना हुँदैन भन्ने सन्देश हो । थापासँग लामोसमय काम गरेका नेकपा (दाहाल–नेपाल) का स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘संसद पुनस्थापना हुन्छ भन्ने लागेको भएको भए थापाले सम्भवत: ओलीको साथ दिँदैनथे । संसद पुनस्थापना नहुँदा आफूहरुको कदम संवैधानिक थियो भन्ने राजनीतिक आधार बन्न सक्ने थापाको आकलन देखिन्छ ।’ यो मुद्दा सर्वोच्च अदालतमा छ ।
बैशाखमा चुनाव हुँदैन
थापानिकट मानिने तर अहिले नेकपाको दाहाल–नेपाल समूहमा रहेका एक केन्द्रीय सदस्यले थापाले ओलीसँग सहकार्यको हात बढाएर बैशाखमा चुनाव हुँदैन भन्ने संकेत गरेको विश्लेषण सुनाए । कसरी ? उनले भने, ‘थापाको अहिलेको कदम राजनीतिक रुपमा स्वभाविक र प्राकृतिक देखिँदैन । आफ्ना सहकर्मी सबैले असहयोग गर्दा पनि उनी ओलीसँग सहकार्यको तहमा पुगे । थापा बैशाखमा चुनाव हुँदैन भन्नेमा ढुक्क छन् ।’ राष्ट्रियसभा सदस्य रहेकाले थापाका लागि प्रतिनिधि सभाको चुनावको अन्य नेताहरुलाई जति महत्वपूर्ण छैन ।
गृहमन्त्रीमा लामो समय बसिन्छ
नेकपाकै दाहाल–नेपालसमूहका अर्का एक सदस्यले राजनीतिक–वैचारिकरुपमा विचलित भएर थापाले पदकै लागि ओलीसँग सहकार्य गरेको विश्लेषण गरे । उनले भने, ‘सरकार गठन भएको तीन बर्ष भयो । ओली मन्त्रिपरिषद्मा उनी शक्तिशाली मन्त्री बने । अहिले गृहमन्त्रीको पदलाई सुरक्षित गर्न ओलीसँग नजिक भए । र, यसमा गृहमन्त्री चार महिनामात्रै होइन लामो समय बसिन्छ भन्ने थापाको बुझाई छ । संसद पनि पुनस्थापना नहुने र बैशाखमा चुनाव पनि नहुने हो भने थापाको कार्यकाल लम्बिन सक्छ ।’ गृहमन्त्रीका रुपमा अहिलेसम्म थापाको कार्यकाल औसत छ । उनका कार्यकालमा निर्मला पन्त बलात्कार र हत्यालगायतका केही गम्भीर अपराध अनुसन्धान निष्कर्षमा पुगेका छैनन् ।
बरियता बढ्छ
हाल थापासँगै रहेका ओली नेकपाका एक केन्द्रीय सदस्यको बुझाईमा थापाले दाहाल–नेपालतिर भन्दा ओलीतिर राजनीतिक सम्भावना देखे । कसरी ? उनले विश्लेषण सुनाए, ‘वामदेव गौतम दाहाल–नेपाल समूहमा सहभागी नभए थापाको वरियता पाँचौ हुने थियो र गौतम सहभागी हुँदा छैठौँ । यदि गौतम नखुल्दै थापा दाहाल–नेपाल समूहमा जोडिएको भए उनी दाहाल, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठपछि पाँचौ वरियतामा हुन्थे । तर, थापाले ओलीलाई समर्थन गरेर हाल दोस्रो वरियता सुरक्षित गरेका छन् । यद्यपि गौतम ओली खेमामा गए भने थापा तेस्रो वरियतामा हुनेछन् । ओली समूहको दोस्रो नेता हुन छाडेर थापाले अर्को समूहमा पाचौँ वा छैठौँ वरीयता रोज्न तयार भएनन् ।’