गृहमन्त्री बादलले ल्याए नयाँ प्रस्ताव: प्रधानमन्त्रीले बैठकमै गरे प्रशंसा - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

गृहमन्त्री बादलले ल्याए नयाँ प्रस्ताव: प्रधानमन्त्रीले बैठकमै गरे प्रशंसा



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टीमा देखिएका विवादको निरुपणका लागि सबै प्रस्तावहरू स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार ३ घण्टा बसेको बैठकपछि संचारकर्मीसंग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

स्थायी कमिटीको बैठक भोलि आइतवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने श्रेष्ठले जानकारी दिए ।सचिवालय बैठकअघि २ अध्यक्षबीच बालुवाटारमा छुट्टै छलफल भएको थियो ।

शनिवारको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिए । आजको सचिवालय बैठकअघि पनि दुवै अध्यक्ष छलफलमा जुटे पनि सहमति भने निस्कन सकेको छैन ।

आजको बैठकमा पार्टी सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले नयाँ प्रस्ताव गरेका थिए । बैठकमा बादलले उच्चस्तरीय कार्यदल बनाएर पार्टीका समस्याबारे समाधान जुटाउने प्रस्ताव प्रस्ताव गरेका थिए ।

‘यसरी हुँदैन अब एउटा उच्चस्तरीय कार्यदल बनाएर संकट समाधान गर्नुपर्छ’ गृहमन्त्री बादलको भनाई उद्घृत गर्दै एक सदस्यले बताए ।

थापाको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णु पौडेलले समर्थन जनाएका थिए । त्यसपछि बोलेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रस्ताव निकै राम्रो भएको बताउंदै बादलको प्रशंसा गरेका थिए ।

बादलको प्रशंसा गर्दै ओलीले कार्यदलको संयोजक बन्न उपाध्यक्ष वामदेव गौतमलाई अफर गरेका थिए । तर गौतमले भने प्रस्ताव अस्विकार गरेका थिए ।