बादलले फेरी छोडे प्रचण्डको साथ् - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

बादलले फेरी छोडे प्रचण्डको साथ्



काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले आफू प्रधानमन्त्री ओलीकै समर्थनमा रहेको उल्लेख गरेका छन्।

उनले मंगलबार नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहित केन्द्रीय सदस्यहरुको टोलीसँगको भेटमा मन्त्री बादलले अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने बताए।

उनले भने, म झम्सिखेल बैठकमा गएको र बोलेको कुरालाई बंग्याएर कुप्रचार गरियो । अहिले सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुराले प्रतिक्रान्ति निम्त्याउँछ। हामीले क्रान्तिलाई सहयोग गर्नुपर्छ।

पार्टी विभाजनविरुद्ध उभिन र नेताहरुबीच एकता कायम गर्न दबाव दिन जाँदा गृहमन्त्रीले आफू कसैलाई निषेध गरेर जान हुँदैन भन्ने पक्षमा रहेको पनि बताए।

बादललाई भेट्न खिमलालसहित राष्ट्रियसभा सांसद तथा केन्द्रीय सदस्यहरु सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, जीवन बुढा र नरपति लोहार गृहमन्त्रालय पुगेका थिए। बुढा बाहेक अरु सबै प्रधानमन्त्री केपी ओलीनिकट नेता हुन्।

संस्थापन निकट नेताहरुसँग बादलले फरक कुरा गरे पनि झम्सीखेल बैठकमा भने आफू माधव–प्रचण्ड समूहकै निकटमा रहेको बताएका थिए।

भेटमा भट्टराईसहित राष्ट्रिय सभामा प्रधानमन्त्री केपी ओलीनिकट सांसदहरू सुमनराज प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, जीवन बुढा र नरपति ल्वार सहभागी थिए । भट्टराईसहितको टोलीले उपाध्यक्ष वामदेव गौतमलाई पनि भेटेर विभाजन रोक्ने पहलका लागि अगुवाइ गर्न आग्रह गर्ने तयारी गरेको छ ।

२० वैशाखको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली, त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले पार्टी र सरकार सञ्चालनका क्रममा अहिलेसम्मका कमजोरीबारे आत्मालोचना गरेपछि अबदेखि विधि, पद्धति र कम्युनिस्ट मूल्य–मान्यता र पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यस निर्णयसँगै नेकपाको शीर्ष तहको विवाद तत्कालका लागि मत्थर भएको थियो ।

त्यस्तै, बैठकले पार्टीको आन्तरिक जीवनमा देखापरेका संकटहरूलाई समाधान गरी एकताबद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने र पार्टी एकतालाई कमजोर पार्ने र फुटउन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिने निर्णय गरेको थियो ।

बैठकले पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्य–मान्यतामा सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवादउन्मुख आर्थिक सामाजिक रुपान्तरणको लक्ष्य हासिल गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय पनि लिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए ।

१७ वैशाखमा प्रधानमन्त्री ओलीले भावी प्रधानमन्त्रीका रूपमा उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्तावको विरोध गरेका थिए ।