'बादल'लाई जिताउन प्रधानमन्त्री ओलीको अपील - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

‘बादल’लाई जिताउन प्रधानमन्त्री ओलीको अपील



काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको निर्वाचनमा रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गरेका छन् ।

प्रधानमन्त्री ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार गृहमन्त्री समेत रहेका ‘बादल’ लाई जिताउन अपील गरेका हुन् ।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘यस निर्वाचनमा हाम्रो एकतावद्ध सङकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पुर्याउने छ । अतः यस निवाचनमा पार्टीका उमेदवार रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु ।’

उनले पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाल्नु कल्पना बाहिरको कुरा भएको पनि उनले बताएका छन् ।

‘अहिले पार्टीभित्र देखा परेका समस्याको समाधान गरी पार्टीलाई एकतावद्ध बनाउनका लागि कार्यदल बनेर कामसमेत सुरु भइसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कर्तव्य हो । पार्टीको आधिकारिक उमेदवारविरुद्ध उमेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति वहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागिसमेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्,’ ओलीले भनेका छन् ।