गृहमन्त्रीको नियतमा 'बादल' लागेको त होइन ? - Himal Post Himal Post
  • १८ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 2 2025
Logo

गृहमन्त्रीको नियतमा ‘बादल’ लागेको त होइन ?



काठमाडौं- कहिले यातायात सिन्डिकेट अन्त भएको घोषणा त कहिले विकास अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको प्रचार, कुनै पनि योजना टुंगोमा पुर्‍याउन असफल गृह मन्त्रालय अहिले निष्क्रिय छ।

तर, सधैं ‘लकडाउन’मा बस्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अहिलेको विपतमा पनि मौन छन् । लकडाउन लागू गराउन प्रहरीका जुनियर अधिकारीहरू फिल्डमा छन्, तर यही वेला पारिश्रमिक कट्टा गरेर नेतृत्वले सुरक्षाकर्मीको मनोबल घटाइदिएको छ।

त्यसैले पनि विदेशबाट गाउँ फर्किएकालाई खोज्ने र क्वारेन्टाइनमा राख्ने काम फितलो भएको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

भूकम्पको वेला भएको भद्रगोल व्यवस्थापनबाट पाठ सिकेर सरकारले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरेको छ।

चार महिनाअघि मात्र सिइओसमेत नियुक्त गरिएको थियो, तर खास विपत्को वेला प्राधिकरण सुनसान छ। बरु, छाउनीस्थित नेपाली सेनाको गणमा अहिले चहलपहल छ । कोरोना क्राइसिस मेनेजमेन्ट टिम ९सिसिएमसी० कार्यालय स्थापना गरेर काम भइरहेको छ, जब कि यस्तै वेलाका लागि प्राधिकरण गठन गरिएको हो।

कोरोना नियन्त्रण तथा रोकथाम अभियानमा स्वास्थ्यकर्मीपछि सुरक्षाकर्मी छन् । उनीहरू दिनमा १५ घन्टासम्म ड्युटी गरिरहेका छन् । उनीहरूलाई प्रोत्साहन भत्ता दिएर उत्साही बनाउनुपर्ने माग भइरहेको छ । तर, सरकारका निर्णयले सुरक्षाकर्मीलाई निरुत्साहित बनाइरहेको छ।

गत ९ चैतमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको एउटा निर्णय थियो । शंकास्पद बिरामीलाई अस्पताल पुर्‍याउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा प्यासेन्ट रिसिभिङ टिम (पिआरटी) गठन गरेको थियो।

यसका लागि हरेक जिल्लामा प्रहरीलाई तालिम दिएर जिम्मेवारीमा खटाउने जिम्मेवारी गृहमन्त्रीले स्वीकार गरेका थिए । तर, आफैँ सहभागी भएको समितिले दिएको जिम्मेवारी गृहमन्त्रीले कार्यान्वयन गराएका छैनन्।

भारतीय प्रहरीको लाठी र बुट खाँदै सिमानामा आएका नेपालीले स्वदेश फर्कन देऊ, क्वारेन्टाइनमा बस्न तयार छौँ भनेर तीन दिनसम्म नारा लगाउँदा पनि गृह प्रशासनको सहानुभूति तान्न सकेनन्।