प्रधानन्यायाधीशमाथि खनिए महान्यायाधिवक्ता बडाल - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

प्रधानन्यायाधीशमाथि खनिए महान्यायाधिवक्ता बडाल



काठमाडौं– महान्यायाधिवक्ता रमेश बडाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि खनिएका छन् । विपक्षीले प्रश्न उठाउँदा कुरा सुनेको र आफूहरूले प्रश्न उठाउँदा कारबाही गर्छु भनेको भन्दै बडाल खनिएका छन् ।

उनले ११ न्यायाधीशविरुद्ध निवेदन दिने सरकारी पक्षका कानुन व्यवसायीको बचाउमा उत्रिएका छन्। कानुन व्यवसायीहरु राजाराम घिमिरे, दीपक मिश्र, कृष्णप्रसाद भण्डारीलगायतलाई निवेदन फिर्ता नलिए अवहेलनामा कारबाही गर्ने चेतावनी प्रधानन्यायाधीशले दिएपछि महान्यायाधिवक्ता बडाल प्रतिरक्षामा उत्रिएका हुन्।

‘विपक्षीले उठाए ठीक अरुले उठाए कारबाही गर्ने भन्ने हुन्छ? हामीले स्थापित गर्न खोजेको न्यायिक प्रणाली कस्तो हो ?’ उनले इजलासमा भने ।
उनले यसअघिको संवैधानिक इजलास विघटनसम्बन्धी आदेशमा प्रधानन्यायाधीशको हस्ताक्षर नभएको भन्दै प्रधानन्याधाधीश राणाप्रति पनि प्रश्न उठाए । ‘अस्तिको आदेशमा प्रधानन्यायाधीशको हस्ताक्षर देखिन्न। दुई न्यायाधीशले नछाड्ने भन्ने राय दुईले छाड्ने भन्ने भन्नेसहित हस्ताक्षर छ, यो के हो ? आदेश हो कि के हो ? यसलाई स्प्ष्ट बनाउनुपर्‍यो,’ उनले भने ।

बडालले यसअघि एकपक्षीय कुरा सुनेर इजलास अघि बढेको आरोप लगाएँदै यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र दुवै पक्षलाई न्याय हुनुपर्ने बताए।

बडालले यसअघि कानुन व्यवसायीले उठाएका प्रश्न अब पनि उठ्ने उल्लेख गर्दै यसअघिको निवेदनका आधारमा दीपक कार्की र आनन्दमोहन भट्टराई इजलासमा बस्न नमिल्ने भन्ने आफूहरुको पनि निवेदन भएको बताए।