बादलले सीके राउतको बचाउ गर्दै भने : सुरुमा यस्तै हुन्छ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बादलले सीके राउतको बचाउ गर्दै भने : सुरुमा यस्तै हुन्छ



बुटवल – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनकपुरमा सीके राउतकै सामुन्ने कार्यकर्ताले लगाएको विखण्डनको नाराको बचाउ गरेका छन् ।

राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिने र गतिविधि गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने भएपनि गृहमन्त्री बादलले सरकारसँग भएको सहमति कार्यकर्तासम्म नपुगेकाले त्यस्तो नारा लागेको हुनसक्ने तर्क गरे । सुरु सुरुमा यस्तै हुन्छ बिस्तारै ब्यबस्थापन हुँदै जान्छ ।

गृह मन्त्रालयको आयोजनामा रुपन्देहीको भैरहवामा सोमवारदेखि शुरू भएको ५ नम्बर प्रदेश स्तरीय २ दिने सुरक्षा गोष्ठीमा बोल्दै उनले राज्य विरोधी, संविधान विरोधी र व्यवस्था विरोधी तत्वबाट शान्ति सुरक्षा र प्रगतिको लागि चुनौती भएकाले सफलतापूर्वक निस्तेज र नियन्त्रण गर्न प्रक्रिया अगाडि बढाइसकेको बताए । उनले मुलभूत रुपमा यस्ता तत्वबाट देशको शान्ति सुरक्षामा चुनौती खडा भएको बताए ।

‘स्वतन्त्र मधेश गठबन्धनसँग नेपाल अखण्ड राज्य हो, देशको अखण्डता कायम गर्न प्रतिवद्ध छौं, यो हाम्रो कर्तव्य हो भनेर उनीहरूले स्वतन्त्र मधेशको नीति परित्याग गरेको आधारमा राजनीतिक सहमति भएको हो,’ गृहमन्त्री बादलले भने, ‘तर नेतृत्वले आफ्नो कार्यकर्तामा त्यस किसिमको सन्देश सम्प्रेषण गर्न बाँकी रहेकाले आइतवार जनकपुरमा त्यस्तो स्थिति देखिएको छ ।’ सीके राउत जनकपुर विमानस्थलमा उत्रिँदा उनका कार्यकर्ताले ‘फ्री मधेश’ लेखिएको झण्डा बोक्दै राष्ट्रिय अखण्डता विरोधी नाराबाजी गरेका थिए ।

जनमत संग्रहबाट राष्ट्रलाई अलग पार्ने सीके राउतको पनि सोच नरहेको र राजनीतिक मुद्दालाई जनअभिमतबाट संविधान संशोधन र राजनीतिक अधिकारलाई पूर्णता दिन सकिन्छ भनेर सहमति भएको बताए ।

राज्य विरोधी र व्यवस्था विरोधी तत्व र समूहको गतिविधि नियन्त्रण गर्ने र मूलधारमा ल्याउन निरन्तर रुपमा सरकारबाट अपिल भइरहेको उनले बताए ।