बादलले भने : विप्लवमाथि गोली हान्न निर्देशन गरेको छैन - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

बादलले भने : विप्लवमाथि गोली हान्न निर्देशन गरेको छैन



काठमाडौं–गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो भिडन्तमै मारिएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार सांसदहरुले सोधेको प्रश्नको जवाफमा मन्त्री थापाले पौडेलको हत्या गैरन्यायिक नभई मुठभेडमा मारिएको बताए । यद्यपि पौडेलको मृत्यु सम्बन्धमा सरकारले थयार्थ छानबिन गर्ने उनको भनाइ थियो । पौडेल गत ५ असारमा सिरहाको लालबन्दी नगरपालिका लखनदेही जंगलमा प्रहरीको गोलीबाट मारिएका थिए । परिवार र विप्लव समूहले पक्राउ गरी जंगलमा लगेर नक्कली भिडन्तका नाममा हत्या भएको आरोप लगाएका छन् ।

‘दुईवटा अनटेस्ट मोटरसाइकलमा आएका चारजनाले प्रहरी टोली देख्नासाथ फायर गरेकोले प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा पौडेलको घटनास्थलमै मृत्यु भएको हो’, थापाले भने । थापाले पौडेलले लालबन्दी र हरिवनका स्थानीय व्यापारी, जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत धम्क्याएर भन्दा माग्ने गरेको र चन्दा नदिएको ज्यानैसम्म लिनेसम्मका धम्की दिने गरेको सूचना आएको बताए । गृहमन्त्रीले विप्लव समूहलाई समाप्तै पार्न सरकारका तर्फबाट सुरक्षा निकायलाई कुनै निर्देशन नगएको पनि दाबी गरे ।

विप्लवसँग वार्ताबाटै समस्या समाधान गर्न सरकार प्रयासरत रहेको पनि उनले बताए । तर, विप्लव वार्ताका लागि तयार नभएकाले सरकारले प्रयासले सार्थकता नपाएको तर्क उनको थियो । ‘सरकार पनि विप्लवलाई वार्तामार्फ नै राजनीतिक मुलधारमा ल्याउने प्रयासमा छ’, थापाले भने, ‘त्यो समूहलाई समाप्तै पार्नुपर्छ भन्ने निर्देशन सरकारका तर्फबाट भएको छैन ।’