बादल भेट्न बिहानै प्रचण्ड मन्त्री क्वाटर पुगे - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

बादल भेट्न बिहानै प्रचण्ड मन्त्री क्वाटर पुगे



काठमाडौं- पार्टी विभाजनको औपचारिक घोषणा हुन मात्रै बाँकी रहदासमेत कुनै पक्षमा नखुलेका गृहमन्त्री रामबहादुर थापा बादललाई फकाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएका छन् ।

केन्द्रीय कमिटी बैठक बस्नुभन्दा केहि घण्टा प्रचण्ड सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापालाई फकाउन पुल्चोकस्थित उनको सरकारी निवासमा पुगेका छन् ।

भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीले गम्भीर गल्ती गरेकाले उक्त असंवैधानिक कदमलाई साथ नदिन आग्रह गरेका छन् ।

उनले जनमतको अपमान हुनेगरि गरिएको संसद् विघटनविरुद्ध एउटै मोर्चामा उभिएर सहकार्य गर्न समेत गृहमन्त्री थापासँग आग्रह गरेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेसँगै यो असंवैधानिक कदम भएको आरोप लगाएर सात जना मन्त्रीले राजीनामा दिइसकेका छन्। राजीनामा दिने सबै नेताहरु प्रचण्ड माधव नेपाल पक्षका हुन्।

पूर्व माओवादी कोटाबाट मन्त्री बनेका बादल र लेखराज भट्टले भने प्रधानमन्त्री ओलीलाई साथ दिइरहेका छन्।