बाबुराम-उपेन्द्र : दुवै हातमा लड्डु - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

बाबुराम-उपेन्द्र : दुवै हातमा लड्डु



काठमाडौं -भर्खरै एकताको सुत्रमा बाँधिएको बाबुराम-उपेन्द्रको नयाँ गठबन्धन अचम्मको छ । पार्टीको प्रादेशिक अभिमुखीकरण कार्यक्रमको लागि उनीहरु यतिबेला देशदौडाहामा छन् । हरेकजसो कार्यक्रममा उनीहरु सरकार बिरुद्ध खनिन्छन, सरकारलाई गालि पनि गर्छन तर त्यो सरकार उनीहरु पनि हुन् । किनकि उनीहरुको समाजवादी पार्टी सरकारमा छ र उपेन्द्र यादव त्यहि सरकारको उपप्रधानमन्त्री हुन् ।

गठबन्धन बनेपश्चात समाजवादी पार्टी सरकारबाट बाहिरिन्छ कि भन्ने जनताको अपेक्षा थियो किनकि एकातिर उपेन्द्र यादवले संबिधान संसोधनको मुद्दा उठाएजस्तो गरिरहन्थे भने अर्कोतिर बाबुराम भट्टराईले सरकारको र सरकारी प्रवृत्तिको निकै आलोचना गरिरहेका हुन्थे । गठबन्धनको निर्णय अपेक्षाकृत बन्न सकेन वा सरकार छाड्न सकेन, सरकारमा मह काडीरहेकाछन् वा नजर गाडिरहेकाछन् उनीहरुनै जानुन तर उनीहरुको यो दोधारे प्रवृत्तिले जनता अन्योलमा छन् ।

एकातिर सत्तामा लिसो जस्तै टाँसीएर बस्ने र अर्को तिर जनताको अगाडी साधु बनेर सरकारको सत्तोसराप गर्ने प्रवृत्ति यहा पनि देखिएपछी बाबुराम भट्टराइको आँखामा जनताले देखेको सपना पनि झुठो प्रमाणित हुने पक्का छ ।

अध्यक्षद्वय डा बाबुराम भट्टराई र उपेन्द्र यादवले संविधान संशोधन नभए आफूहरु सरकार छाडेर सडक आन्दोलनमा जाने बताउंदैगर्दा अलिकति पनि लज्जाबोध भने गर्दैनन् बरु कांग्रेस र कम्युनिष्टको सत्तोसराप गर्छन त्यहि कम्युनिष्ट सरकारमा ठुलो पद ओगटेर ।

हुनत झिनो शक्ति लिएर सरकारमा ठुलो पद हत्याएका उपेन्द्रलाई यो पनि छाड्नेहो भने के खाने, पार्टी के ले पाल्ने भन्ने पनि हुनसक्छ नत्र दुवै हातमा लड्डुको कारोबार किन गर्नुपर्थ्यो ? राजनीति, जनता, कार्यकर्ता र सरकारलाई आफ्नै पेवा ठान्ने यो परम्परालाई उपेन्द्र एण्ड बाबुराम कम्पनीले पनि निरन्तरता दिएको देख्दा आश्चर्य होइन परम्परा जोगाएजस्तो पो लाग्दैछ , आखिर राजनीति भनेको गफ, झुट र फजुल कुरा त हो भन्ने अर्को प्रमाण यो भन्दा अर्को के भेटिएला र ?

कुनैबेला जनताका आशाका केन्द्र रहेका बाबुराम भट्टराइ यतिबेला छटपटी, हुटहुटी, र तनावले के गरौँ के नगरौं भन्ने अवस्थामा रहेको प्रष्ट देखिन्छ । कि त सरकारमा बसेर खुरुखुरु काम गर्ने, कि त च्यात्त सत्ता छोडेर सडकमा जाने हो भने पार्टी र नेता दुबैको इज्जतमा दाग नलाग्ने पक्का होला अन्यथा उपेन्द्र-बाबुरामको अहिलेको दुबै हातको लड्डु खोसिएर दुबै हात रित्तो बन्न बेर छैन ।