सुकुम्बासीमाथि गोली चलाउने काम गलत: बाबुराम भट्टराई - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

सुकुम्बासीमाथि गोली चलाउने काम गलत: बाबुराम भट्टराई



चितवन- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासीमाथि गोली चलाउने काम गलत भएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै भट्टराईले सुकुम्बासीमाथि गोली चलाउनु दुखद भएको बताए ।

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीले जग्गा कब्जा गर्ने क्रममा भएको झडपमा आइतबार ४ जना प्रर्दशनकारीको ज्यान गएको घटनालाई इंगित गर्दै गोली चलाएर दिघो समाधान नहुने भट्टराईको भनाई छ ।

सुकुम्बासीलाई गोली चलाएर तितरवितर पार्ने काम दुखद भएको बताए । ‘कतिपय हुकुम्बासी होलान्, तर मुलतः उनीहरु सुकुम्बासी नै हुन्,’ उनले भने, ‘सुकुम्बासी समस्या समाधान गर्नुको साटो गोली चलाउनु गलत छ, लोकतन्त्रमा गोली चलाउन वर्जित छ ।’

जसपा नेपालका संघीय परिषद अध्यक्ष भट्टराईले माग उठाउँदै आन्दोलन गर्ने माथि गोली चलाउने काम गलत भएको बताए । ‘ओलीको प्रतिगमनविरुद्ध संघर्ष गरेर बनेको सरकारले फेरि ओली प्रवृत्ति देखाउनु हुँदैन,’ उनले भने, ‘गुणात्मक रुपमा फरक नभए जनतामा निराशा आउँछ, त्यसैले ओली प्रवृत्तिनै परास्त गर्नुपर्छ ।’

उनले उद्योगमन्त्रीले दिएको राजीनामा प्रकरणबारे सरकार विवादमा पर्नु राम्रो नभएको बताए । सरकारले पूर्ण कार्याकाल पूरा गर्ने दावी उनको छ ।