आफ्नै पार्टीकी सरिता गिरीमाथि खनिए डा. बाबुराम भट्टराई
काठमाडौं- सीमाबारे जथाभावी बोलेका कारण सांसद सरिता गिरी यतिबेला चर्चा र विवादको केन्द्रमा छिन । उनको अभिव्यक्तिले उनलाई मात्र होइन उनको पार्टीलाई पनि नैतिक संकटमा पारेको छ ।
गिरीले नेपालको नक्सासम्बन्धी संशाेधन प्रस्तावको खारेजीको माग गर्दै संसदमा प्रस्ताव दर्ता गराएपछि पार्टीले समेत ब्याक हुन गिरीलाई चेतावनी दिएको छ ।
यसैबीच पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई सरिता गिरीमाथि खनिएका छन् । उनले गिरीलाई कारबाही गर्ने संकेत पनि गरेका छन् ।
भट्टराईले बुधबार साँझ ट्विटमार्फत भनेका छन्, जनता समाजवादी पार्टी देशको गम्भीर र जिम्मेवार पार्टी हो। यसका नेता तथा कार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता,सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पुऱ्याउने कार्य गर्नुहुँदैन र गर्न सक्दैनन्। जो कसैले गरे पनि त्यस्ता कार्य दण्डनीय हुन्छन्। कसैलाई कुनै भ्रम नहोस् ।’
यसअघि पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै प्रस्ताव फिर्ता लिन निर्देशन दिएका थिए । संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने पार्टीको चेतावनी छ । तर, गिरीले आफू आफ्नो अडानबाट पछाडि नहट्ने बताएकी छिन् ।
गिरीले बुधबार नै कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको निसान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
सरकारी विधेयकमा तथ्य र प्रमाण नपुगेकाले संशोधन गर्नुपरेको उनको तर्क छ । संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची ३ मा राखिएको निसान छाप परिवर्तन गर्ने प्रस्तावसहित सरकारले विधेयक दर्ता गराएको थियो ।
गिरीको अभिव्यक्ति र कदमले पार्टीको बदनाम भएको भन्दै जसपाभित्र उनलाई कारबाही गर्नसमेत दबाब उठेको छ ।
जसपा भित्र मात्र नभएर विभिन्न राजनीतिक संगठन र नागरिक अभियन्ताहरूले उनलाई कारबाही गर्नुपर्ने भन्दै दवाव सृजना गरेका छन् ।